बेइजिङ । नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुर लगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोधहरु भएका थिए ।
चीन सरकारले पनि जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने अभियानका बाबजुत चीनको गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव शुरु भएको छ ।
१० दिनसम्म चल्ने यो उत्सवमा हजारौँ मानिसहरु सहभागी हुने न्युयोर्क पोस्टले जनाएको छ । तर, अभियानकर्ताहरुले भने विगतका भन्दा यस वर्ष कम सहभागी हुने र सम्भवतः यो वर्ष अन्तिम उत्सव हुने बताएका छन् ।
‘मलाई आशा छ किन जनावरका लागि मात्र नभएर मानिसको स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले पनि यस्ता पर्वहरु अब हुने छैनन् र युलिन परिवर्तन हुनेछ,’ चीनी नीति विज्ञसमेत रहेका जनावर अधिकारकर्मी पिटर लिले भने ।
उनले यस्ता पर्वहरु आयोजना गर्दा र मानिसहरु भीडभाड गरेर जम्मा हुँदा जनस्वास्थ्यमा खतरा उत्पन्न हुने र कोरोना भाइरसको संक्रमण थप बढ्ने बताएका छन् ।
नोभेल कोरोना भाइरस चमेरोबाट आएर मानवमा सरेको भनिएकोमा चीनले आफ्नो र जनवारबीचको सम्बन्धलाई फेरि पुनर्मूल्यांकन गर्न आवश्यक रहेको बताइएको छ ।
चीन सरकारले वन्यजन्तुको व्यापार र घरपालुवाको सुरक्षात्मक उपाय सम्बन्धी नयाँ नियम ल्याउने तयारी भइरहेको बताइएको छ । गत फेब्रुअरीमा चीन सरकारले वन्यजन्तुको व्यापारमा रोक लगाएको थियो ।
गत अप्रिलमा सेन्जेनमा कुकुरको मासुसमेत बिक्री गर्न प्रतिबन्ध लगाउने पहिलो शहर बनेको थियो । कृषि मन्त्रालयलेसमेत कुकुरलाई घरमा पाल्न सकिने भए पनि मासुजन्य पशुको रुपमा राख्न नहुने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया