दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेसन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिएका छन् । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेसन कक्षको निरीक्षणपछि उनले जिल्लामा थप आइसोलेसन कक्षको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।
आइसोलेसन कक्षको अभावमा कोरोना सङ्क्रमित क्वारेन्टाइमै बस्नुपर्ने अवस्था आएको जनाउँदै उनले पर्याप्त आइसोलेसन कक्ष बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए । उनले आइसोलेसन कक्षको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने समेत जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिल्लामा आइसोलेशन कक्ष थप गर्नका लागि ठाउँको खोजी गरिएको जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कल्याणकारी विज्ञापन
व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सञ्चारमाध्यमलाई कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । कोभिड–१९ को प्रभावले सञ्चारमाध्यम प्रभावित भएकाले सञ्चारमाध्यम र सञ्चारकर्मीको हितका लागि नगरपालिकाले कल्याणकारी विज्ञापन उपलब्ध गराउन लागेको हो ।
पत्रकार महासङ्घको सहकार्यमा सञ्चारकर्मीलाई लक्षित गरी विविध कार्यक्रम ल्याइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । सञ्चारमाध्यमको प्रबद्र्धन अन्तर्गत नगरभित्र सञ्चालनमा रहेका सञ्चारमाध्यमको वर्गीकरण गरी कल्याणकारी विज्ञापन उपलब्ध गराइने उनले बताए । उनका अनुसार पत्रकारहरुको वृत्ति विकास गर्न पत्रकारिता उच्च अध्ययनका लागि हरेक वर्ष न्यूनतम एक जना सञ्चारकर्मीलाई छात्रवृत्ति सहयोग उपलब्ध गराइनेछ ।
नगरपालिकाको आर्थिक, कृषि तथा पूर्वाधार विकास सम्बन्धी विषयमा समाचार सङ्कलन, रिपोर्टिङसम्बन्धी विशिष्ट तालिम सञ्चालन गर्नका लागि पनि नगरपालिकाले सहयोग पु-याउने न्यौपानेले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा सञ्चारमाध्यम प्रबद्र्धनका लागि रु दश लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले स्थानीय स्तरमा प्रकाशन हुने पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनहरुसँग नगरपालिकाको गतिविधि झल्कने गरी कार्यक्रम निर्माण, प्रकाशन र प्रशारण गरी नगरपालिकाको गतिविधि नगरवासीसम्म पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सञ्चारमाध्यमको प्रबद्र्धनका लागि नगरपालिकाले ल्याएको योजना सकारात्मक रहेको महासङ्घका जिल्ला शाखा अध्यक्ष ओमकार आचार्यले बताए ।
नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७-७८ का लागि एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । जसअनुसार पुँजीगततर्फ ६२ करोड ७१ लाख ९८ हजार र चालु खर्चतर्फ ९० करोड २५ लाख ५३ हजार बजेट विनियोजन गरिएको उपप्रमुख मीरा जोशीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारणले राजश्व सङ्कलन, अनुदान प्राप्त अवस्था निराशाजनक भएकाले विकास आयोजनाहरुमा गति लिन नसक्दा सम्झौता भइसकेका तर सम्पन्न हुन नसकेका अधुरा योजनाका लागि २० करोड ८० लाख ८७ हजार बजेट विनियोजन भएको छ ।
नगर र वडास्तरीय सडक आयोजनाका लागि १७ करोड ४३ लाख २५ हजार, खानेपानी तर्फ चार करोड ६५ लाख ९५ हजार, कृषि सिंचाईतर्फ पाँच करोड ५७ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४४ करोड ८३, स्वास्थ्य तथा सरसफाईतर्फ नौ करोड ८६ लाख ८७ हजार, नविकरणीय उर्जा, सडक बत्ती विस्तार एवं व्यवस्थापनतर्फ ५३ लाख ८० हजार, गाउँनगर साझेदारी कोष सञ्चालनका लागि एक करोड ६४ लाख, दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकास तर्फ रु एक करोड तीन लाख विनियोजन गरिएको छ । दुम्सीचौर स्थित नारेश्वर ताल निर्माणका लागि एक करोड ५० लाख र मादी नदी बहुउद्देश्यीय विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि ७० लाख बजेट विनियोजन गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया