गौमूलको नीति कार्यक्रमः चाउचाउ बन्द

बाजुरा । गौमूल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २९ लाख रुपैयाँ बराबरको बजेट प्रश्तुत गरेको छ ।

सातौँ गाउँसभामा उपाध्यक्ष सीता थापाले समानीकरण, संघीय र प्रदेश सरकारको अनुदान, सशर्त र राजस्व बाँडफाँट लगायत शीर्षक समावेश गरिएको ३२ करोड २८ लाख, ७६ हजार रुपैयाँ बराबरको बजेट प्रश्तुत गरिन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट शीर्षकमा पनि कृषि उत्पादन, आयआर्जन, युवा रोजगारका विषयलाई प्राथमिकतामा राखेको छ भने घटमुनामा १५ शैयाको अस्पताल निर्माण गर्ने गरी योजना अघि सारिएको छ ।

बजारका खानेकुराको गाउँमा बिगबिगी बढेपछि अखाद्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने गाउँसभाले निर्णय गरेको छ ।

गाउँसभाले जनस्वास्थ्यमा असर पार्ने बजारका तयारी खाद्य सामग्री प्रयोगमा रोक लगाउने र चाउचाउलाई गाउँपालिकाका ६ वटै वडामा पूर्ण रुपमा बिक्री बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका केन्द्र रहेको घटमुना बजारबाहेक सबै वडामा चाउचाउसहितका मसलादार उत्पादन सामग्री बन्द गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष थापाले बताइन् ।

विद्यालय क्षेत्रबाट तीन सय मिटर आसपास क्षेत्रमा पत्रुखाना बिक्रिीवितरणमा रोक लगाइने र यसबारे नियमित सचेतना फैलाउने निर्णय गाउँपालिकाले गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?