माछापुच्छ्रेको बजेट रोजगारी र कृषिका कार्यक्रममा केन्द्रित

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि ६२ करोड ६७ लाख ६९ हजार २९० रुपैयाँको बजेट पारित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बुधवार गाउँसभामा प्रश्तुत गरेर सभाबाट पारित बजेटमा चालुतर्फ २८ करोड १९ लाख २० हजार रुपैयाँ तथा पूँजीगततर्फ ३४ करोड, ४८ लाख ५९ हजार २९० रहेको छ ।

गाउँपालिकाले कोभिड–१९ का कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकको रोजगारीका अवसर वृद्धि गर्न लघुउद्यम विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्दै प्राकृतिक, सांस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्ध बनाउन स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिइएको उपाध्यक्ष दवाडीले बताइन्।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ २३ करोड ५४ लाख ७२ हजार ४९० रुपैयाँ, सामाजिक विकासतर्फ चार करोड ७० लाख ४६ हजार ८०० रुपैयाँ, आर्थिक विकासमा तीन करोड पाँच लाख ८० हजार रुपैयाँ, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड १५ लाख ५० हजार र सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ एक करोड दुई लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष दवाडीले जानकारी दिइन् ।

कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन, क्वारेन्टिन निर्माण, सञ्चालन र व्यवस्थापन र औषधि उपकरण तथा कोष स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, औषधि उपचार एम्बुलेन्स, ल्याब स्थापनाका लागि ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फिर्ता भएका र बेरोजगार युवाको उद्यमशीलता विकासका लागि सहकारीमार्फत उद्यमशीलता घुम्ती कोष सञ्चालन गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष दवाडीले जानकारी दिए। कृषि तथा पशु क्षेत्रमा अग्रणी गाउँपालिकाका रुपा रहेको माछापुच्छ्रेमा कृषि तथा पशुपालन व्यवसायको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणका लागिएक करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

एक घर एक धारा कार्यक्रमका लागि दुई करोड ३३ लाख रुपैयाँ, महिला बालबालिका, दलित, जनजाति, ज्येष्ठ नागरिक र अपाङ्गवर्गको उत्थान र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न ५५ लाख रुपैयाँ, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र जनउत्तरदायी बनाउनका लागि एक करोड सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवनका लागि छ करोड ५० लाख रुपैयाँ, गाउँपालिका आउने मुख्य बाटो गोरुगौडा समिबवर सडक कालोपत्र गर्न एक करोड ५० लाख रुपैयाँ, बर्थिङ सेन्टर सुदृढीकरणका लागि  १५ लाख रुपैयाँ, राष्ट्रपति रनिङ शिल्डका लागि १० लाख रुपैयाँ, गाउँपालिका तथा सबै वडा कार्यालयमा सिसी टिभी जडानका लागि १० लाख रुपैयाँ, उच्च शिक्षा छात्रवृत्तिका लागि १० लाख रुपैयाँ तथा जल उत्पन्न प्रकोष नियन्त्रणका लागि आगामी वर्ष ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?