बृन्दावनकी उपप्रमुख खातुनद्वारा नगरसभा बहिष्कार

रौतहट । रौतहटको बृन्दावन नगरपालिकाका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छन् ।

प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुन् ।

उपप्रमुख खातुनले गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र बुधवार जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको बताइन् ।

नदीजन्य सामग्री बेचेर छ करोड रुपैयाँ र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ ।

लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उनले उपप्रमुखको अनुगमन बिनानै सबै योजनाको भुक्तानी भइरहेको बताइन् ।

प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै उच्च अदालतमा जाने उपप्रमुख खातुनले चतावनी दिइन्।

उनले बुधवार भएको एकपक्षीय नगरसभा बदर गरी हिसाब फर्छ्यौटपश्चात नगरसभा गर्न माग गरेकी छन् । उता प्रमुख यादवले उपप्रमुखले सहमतिमा नगरसभामा भएको बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?