शीतल निवासमा दलका नेतासँग राष्ट्रपतिको रात्रिभोज सहितको मिटिङ, के भयो कुराकानी ?

राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न राजधानी दलका नेतासँग छलफल गरेकी छिन् ।
रात्रिभोजसहितको उक्त छलफलमा देशको समसामयिक विषयमा छलफल भएको बताइएको छ । छलफलमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, मन्त्रीहरुलगायत संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका अध्यक्षहरू एवं वरिष्ठ नेताहरू सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलहरू बीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू ज्यादै खुसी भएको कुरा व्यक्त गर्दै धन्यवाद दिइन् ।

राष्ट्रपतिले कोभिड–१९ को महामारी विरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकोमा खुसी व्यक्त गरिन् भने यस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्दै कोरोना प्रभावित विरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

यसैगरी भण्डारीले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलहरू बीच एकता कायम हुनुपर्ने कुरामा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?