काठमाडौं । सरकारले पीसीआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा सात हजार ४१६ वटा नमूना परीक्षण गरिएको कोभिड–१९ स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यो अहिलेसम्मकै उच्च हो ।
शुक्रबार जम्मा छ हजार २३१ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको थियो । सरकारले यही असार १५ गतेदेखि दैनिक १० हजार नमूना पिसिआर विधिबाट परीक्षण गर्ने तयारी गरेको छ ।
हालसम्म पिसिआर विधिबाट एक लाख ६९ हजार १६५ नमूनाको परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४२६ सहित हालसम्म दुई लाख ५२ हजार ३०० जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए।
मुलुकभरका क्वारेन्टाइनमा एक लाख दुई हजार २४५ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या सात हजार पाँच छ । पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष गरी कूल १७६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४१ महिला र एक हजार ४३७ पुरुष गरी कूल एक हजार ५७८ पुगेको छ । कोरोनाबाट हालसम्म २२ जनाको मृत्यु भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया