रामपुरमा दुई झोलुङ्गे पुल बन्ने

तानसेन । रामपुर नगरपालिकामा दुई झोलुङ्गे पुलको एकैसाथ निर्माण शुरु भएको छ ।

रामपुर– ६ प्याक्लुक र ८ सेरा जोड्ने तुरुन्दीखोलामा तथा रामपुर– ४ खोप्टार र काँसजरी जोड्ने अँधेरी खोलामा झोलुङ्गे पुल निर्माणको काम शुक्रवारदेखि शुरु भएको हो ।

नगर प्रमुख रमणबहादुर थापाले नगरका दुई स्थानको सम्बन्धलाई कायम राख्दै कृषि र पर्यटनको विकासमा झोलुङ्गे पुल महत्वपूर्ण हुने बताए ।

तुरुन्दी खोलामा निर्माण हुने पुलको लम्बाइ ९८ मिटर रहने छ । सो पुल रु ४६ लाख ३३ हजार लागतमा आगामी माघ १७ सम्म सम्पन्न गरिने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार अर्यालले बताए।

वडा नम्बर ४ खोप्टार र काँसजरी जोड्ने ६२ मिटर लामो पुल ३२ लाख २५ हजार रुपैयाँको लागतमा सम्पन्न गरिने समितिका अध्यक्ष पूर्णबहादुर थापाले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?