म्याग्दी । म्याग्दीको बेनी अस्पतालको सुविधा विस्तारका लागि पूर्वाधार थप थालिएको छ ।
सुविधा विस्तारका लागि यस वर्ष पाँच करोड रुपैयाँ भन्दा बढी लागतमा उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
खरिद प्रक्रियामा रहेका उपकरण जडान र शुरु भएका पूर्वाधार सकिएपछि बेनी अस्पतालको उपचार सेवामा सहजता हुनका साथै सर्वसाधारणलाई सुविधा पुग्ने समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति भएको अस्पतालमा पूर्वाधार र उपकरण थप गर्न लागिएको हो ।
स्तरोन्नतिलगत्तै शुरु भएको ५० शैया क्षमताको अस्पताल भवन निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु गर्न प्रदेश सरकारको ३५ लाख रुपैयाँ सहयोगमा हेमोडायलाइसिस युनिट स्थापना भइसकेको छ ।
गत फागुनमै तयार पारिएको डायलाइसिसका पूर्वाधार कोरोनाको जोखिम र लकडाउनका कारण शुरु गर्न सकिएको छैन ।
भेन्टिलेटिरसहितको सघन उपचार कक्ष ९आइसीयु०, उपचारमा प्रयोग हुने औजार, अक्सिजन प्लान्ट, मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन भवन र केन्द्र, स्टोर भवन र गाडी खरिद गर्न लागेको समितिका अध्यक्ष कटुवालले जानकारी दिए।
पाँच शैया क्षमताको भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापनाका लागि उपकरण खरिद तथा पूर्वाधार तयार पार्न एक करोड ६९ लाख रुपैयाँ लागत अनुमानको बोलपत्र मूल्याङ्कनको क्रममा छ । ५० लाख रुपैयाँ बराबरको औजार उपकरण खरिदको प्रक्रियामा छ ।
७५ लाख रुपैयाँ विनियोजन भएको अक्सिजन पलान्ट खरिद प्रक्रियामा छ । शव नसड्ने गरी राख्नका लागि दुई व्यक्ति क्षमताको मर्चरी च्याम्बर स्थापना गर्न लागिएको छ । यसका लागि आठ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।
अस्पतालमा उत्पादन हुने मेडिकलजन्य फोहोरको व्यवस्थापनको उपकरण खरिद गर्न २५ लाख रुपैयाँ बजेट प्राप्त भएर प्रक्रिया शुरु भएको छ । फोहोर व्यवस्थापन गर्ने भवन बनाउन १५ लाख रुपैयाँको भवन बनाउन लागिएको छ ।
भण्डारण भवन बनाउनका लागि १६ लाख रुपैयाँको ठेक्का प्रक्रियाबाट काम शुरु भएको छ । गाडी खरिदका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँको बजेटबाट प्रक्रियामा रहेको छ ।
अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिनुका साथै सिटिस्क्यान र थाइराइड परीक्षण, इको मेशिन, एमआरआइलगायतका सुविधा थपका लागि पहल गरिएको अध्यक्ष कटुवालले बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया