प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी

सप्तरी । कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ ।

अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा–१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीवार उजुरी दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनका दाजुभाइले बाँसको भाटासहित घरेलु हतियारले आइतवार आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै रामशरणले उजुरी दिएको बताए ।

आक्रमणमा परी रामशरणका भाई ३४ वर्षीय कालीचरणको टाउको फुटेर गम्भीर घाइते भएका छन्। घाइते कालीचरणलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले उपचार गर्न नसकी रेफर गरेपछि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको छ । विराटनगरमा उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको श्रीमती रामसुन्दर देवीले बताइन्।

कालीचरणलाई जोगाउन जाँदा घाइते भएकी कालीचरणकी भाउजू अडहुलियादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामलखन र रामशरणको सँगै जोडिएको जग्गाको साँधमा रहेको ऐलानी जग्गाको भोगका विषयमा दुबै पक्षबीच लामो समयदेखि विवाद रहेको स्थानीय बलरम यादवले बताए ।

विवादित जग्गामा कसैले घर नबनाउने गाउँलेको निर्णय भए पनि आरोपितले मौका छोपी जबर्जस्ती घर बनाउन लागेको र ऐलानी जग्गा खाली राख्नुपर्छभन्दा बाँसको भाटासहित घरेलु हतियारले आक्रमण गरेको उनले बताए।

सो घटनाका बेला आफू नरहेको प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताएका छन् । घटनाका प्रत्यक्षदर्शी हरिनारायण यादवले घटनाका बेलाको तस्विर देखाउँदै अधिकृत यादव घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरे।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?