क्वारेन्टाइनमै भान्सा, टिभी र इन्टरनेटको सुविधा

बागलुङ । क्वारेन्टाइन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टाइनको प्रबन्ध गरेका छन् । क्वारेन्टाइनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ ।

व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टाइनको निगरानीका लागि ‘सिसी क्यामेरा’समेत जडान गरिएको छ ।

सो क्वारेन्टाइनमा अहिले भारतबाट आएका चार जना छ । सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन् ।

विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टाइन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आवि क्वारेन्टिन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए।

“खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ”, संयोजक थापाले भने, “बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौँ ।” व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ ।

जनहित माविको क्वारेन्टाइनमा रहेका राजु चोखालले इन्टरनेट हेरेर समय बित्ने गरेको बताए।

“हामी तीन जनाको समूह बनाएर बसेका छौँ, भान्सा पनि छुट्टाछुट्टै छ”, उनले भने, “खाना, बसाइमा कुनै कमी र असुविधा छैन ।” बरु, क्वारेन्टाइनको बसाइ लम्बिएकोमा उनको गुनासो छ । उनी क्वारेन्टाइन बसेको २१ दिन भयो ।

आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन । प्रगति आविको क्वारेन्टाइनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन् ।

समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन् । सुविधायुक्त क्वारेन्टिनस्थलले केही सन्तोष दिएको छ । व्यवस्थापन समितिले क्वारेन्टाइनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ ।

क्वारेन्टाइनको अनुशासनलाई कडापूर्वक पालना गराउन नियमित अनुगमनसमेत हुने गरेको छ । नगरपालिकाका पदाधिकारीसमेतले बेलाबेला निरीक्षण गर्छन् । सो क्रममा नगरकै उत्कृष्टमध्येमा ७ नं वडाका क्वारेन्टाइन ठहरिएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए ।

क्वारेन्टाइनमा बस्नेको सङ्ख्या कम भएकाले पनि स्तरीयता कायम गर्न सहज बनेको उनको भनाइ छ । क्वारेन्टाइनस्थलको चुस्त व्यवस्थापनमा स्थानीयवासीकोसमेत उत्तिकै सहयोग छ । कसैले खाट त कसैले टिभी दिएका थिए ।

नगरपालिकाबाट आउने रकमबाहेकको खर्च वडा र व्यवस्थापन समितिले व्यहोर्ने भएका छन् । उक्त वडाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या करिव ५० मात्रै छ । कोरोना कहर लम्बिँदै गएमा तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढ्ने देखिन्छ ।

सो अवस्थामा क्वारेन्टाइनको क्षमता अझै बढाउनुपर्ने अवस्था छ । भारतबाट आउने क्रम शुरु भएपछि नगरपालिकाले गत महिना सबै वडामा कम्तीमा दश शैयाको क्वारेन्टाइन बनाउन निर्देशन दिएको थियो ।

तत्कालै वडा नं ३ ले पनि १५ शैयाको क्वारेन्टाइन निर्माण गरेको थियो । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टाइन निर्माणमा सघाएको वडा वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए।

क्याम्पसको कोठालाई क्वारेन्टाइनस्थलका रुपमा प्रयोग गरिएको छ । “क्वारेन्टाइन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानिटाइजरसम्म उपलब्ध गराएका छौँ”, अध्यक्ष भण्डारीले भने ।

शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्दै आएको छ । क्वारेन्टाइनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गर्ने गरेका छन् ।

क्वारेन्टाइनको बसाइ पूरा गरेपछि र आवश्यकता परेको खण्डमा कोरोना जाँच गरेर मात्र घर पठाइने नगरपालिकाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहलाई भने क्वारेन्टाइन विस्तार र गुणस्तर कायम गर्नु चुनौतीपूर्ण बनेको छ ।

बाहिरबाट आउनेको ठूलो सङ्ख्या र छिटो कोरोना जाँच नहुँदा लामो समयसम्म क्वारेन्टाइनमा राख्दा खर्चको भार पनि थपिँदै गएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा अहिले एक हजार ७३६ जना छन् ।

तीमध्ये झण्डै ८०० जनाको कोरोना जाँचका लागि स्वाब लिइए पनि रिपोर्ट भने आउन बाँकी छ । जिल्लामा हालसम्म ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आठ जना निको भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?