विषादी अवशेष परीक्षण केन्द्रलाई तीन करोड रुपैयाँ विनियोजन

दमौली । गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका र स्याङ्जाको मालुङ्गामा स्थापना भएको द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेट भाषणअनुसार ती दुई केन्द्रलाई दुई करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

गत वर्ष स्थापना भएको परीक्षण केन्द्रलाई पशुपंक्षी रोग नियमन गर्ने प्रयोगशालाको रुपमा समेत सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्ष २०७७र७८ मा बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको नाकामा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको थियो ।

आँबुखैरेनीमा स्थापना भएको परीक्षण केन्द्रबाट प्रदेश भित्रिने तरकारीमा विषादी भएरनभएको परीक्षण गर्दछ ।

कार्यालयका निमित्त प्रमुख एवं प्राविधिक सहायक दिनाकर आचार्यले तरकारीको गाडी बढी मात्रामा रातिको समयमा चल्ने भएकाले रातिको समयमा प्रयोगशालामा काम हुने गरेको जानकारी दिए ।

“प्रदेश भित्रिने तरकारी गाडीलाई रोकेर नमूना लिई प्रयोगशालाबाट परीक्षण गर्ने गरेका छौँ”, उनले भने, “प्राविधिक कर्मचारीको कमी हुँदा एक्लैले भने काम गर्न अप्ठ्यारो हुने गरेको छ ।”

उनका अनुसार प्रयोगशालाबाट २० मिनेटभित्रै रिपोर्ट आउने गरेको छ । “तरकारीमा विषादी नभेटिए २० मिनेटभित्रै रिपोर्ट दिएर तरकारी लैजानका लागि अनुमति दिन्छौँ, विषादीयुक्त तरकारी ढुवानीका लागि अनुमति हुँदैन”, उनले भने ।

परीक्षण केन्द्रमा स्थायीरुपमा जनशक्ति नभए पनि मन्त्रालयले केही कर्मचारी भने खटाएको छ । आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गर्ने लक्ष्य लिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?