गाउँघरमा घुम्दै कोरोना सङ्क्रमित

डोटी । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खेलेआमरूपमा गाउँमा घुम्न थालेका छन् ।

गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा सुरक्षाकर्मी नभएका कारण उनीहरु घरको कामदेखि धान रोपाइँको काममा व्यस्त हुने गरेको पाइएको छ ।

भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त वडाका १४ जनामा कोरोना सङ्क्रमण देखापरेको छ ।

गत जेठ २० गते आलीअतुराली क्वारेन्टाइनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालमा पठाएको थियो ।

मङ्गलवार जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरको संयोजगत्वमा उक्त वडामा पत्रकारसहित गएको अनुगमनका क्रममा कोरोना सङ्क्रमित खुलेआम गाउँघरमा घुमिरहेको पाइएको थियो ।

कोरोना परीक्षणका लागि स्वाब पठाइएकामध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमणको पुष्टि भएको रिपोर्ट आएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिषबहादुर शाहले बताए ।

उनले भने, “आलीअतुराली क्वारेन्टाइनमा बसेका २८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालमा पठायौँ, जसमा १४ जनाको नतिजा पोजेटिभ आएको छ, सबै आफ्नो घर गएपछि नतिजा आयो, अहिले समस्या भयो ।” पिसीआरको नतिजा नआउँदै आफूहरुलाई होम क्वारेन्टाइनमा रहने गरी घर पठाएका एक कोरोना सङ्क्रमितले बताए ।

उनले भने, “कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई होम क्वारेन्टाइनमा बस्नु भनेर घर पठायो, अहिले कोरोना पोजेटिभ आयो, हामी पनि चिन्तित छौँ ।”

घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै स्थानीयवासीमा त्रास फैलिएको स्थानीय बलबहादुर बोगटीले बताए।

उनले भने, “कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिन बसेकालाई घर पठाइदियो, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ ।”

कोरोना सङ्क्रमण भएकाहरु खुलेआम गाउँघरमा घुमिरहेका कारण अन्यमा पनि कोरोना सर्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको उहाँको भनाइ छ ।

गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए ।

त्यसअघि ११ गते गौरिफन्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले बनाएको क्वारेन्टिनमा थिए ।

१६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

छोरा र श्रीमतीमा भने दुईपटकसम्म जाँच गर्दा पनि कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । ती युवकमा सङ्क्रमण पुष्टि भएसँगै एउटै क्वारेन्टिनमा बसेका ३१ जना अन्यको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ सङ्कलन भएको थियो ।

उनीहरुमध्ये १४ जनामा कोरोना पुष्टि भएको रिपोर्ट आएको हो । ढिलोगरी परीक्षणको नतिजा आउँदा सङ्क्रमित पाईएकाहरु सबै घर–घर पुगिसकेका छन् । पहिलो सङ्क्रमितलाई कुनैपनि लक्षण नदेखिएकोले १४ दिन आइसोलेसनमा राखेपछि जिल्ला अस्पतालले जेठ २९ गते नै डिस्चार्ज गरेको थियो ।

सरकारको ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेको जनाएको थियो ।

सोहीअनुसार उनको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब सङ्कलन गरी पठाइएकाहरुको नतिजा आउनुअगावै सबै जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

“समयमा नतिजा आएको भए पनि उनीहरुको डिस्चार्ज हुने समय भोलि हुने थियो”, स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, “ढिलो रिपोर्ट आयो, अहिले समस्या भयो पोजेटिभलाई अझै केही दिन ‘होम’ आइसोलेसनमा राखिने छ ।” पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३७ पुगेको छ ।

तीमध्ये तीन जनालाई सरकारको मापदण्डअनुसार १४ दिन आइसोलेसनमा राखेर कुनै लक्षण नभेटिएपछि डिस्चार्ज गरिएको छ भने अन्यलाई घरकै होम आइसोलेलसनमा रहने गरी घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?