शिक्षण पेशा छाडेर कागती खेती

चितवन । पूर्वी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागती खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् ।

कालिका नगरपालिका–६ जमुनापुरका सिपी अधिकारीले निजी बोर्डिङ र क्याम्पस पढाउन छाडेर पेशागतरूपमा कागती खेती गर्न शुरु गरेका हुुन् ।

अधिकारीले आफ्नो एक बिघा र भाडाको एक बिघा १० कठ्ठामा कागती खेती गरेका हुन् । पाँच वर्षअघि आफ्नो जमीनबाट खेती शुरु गरेका उनले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती विस्तार गरेका थिए ।

अधिकारीका अनुसार पहिलो वर्ष ३५० बिरुवा र दोस्रो वर्ष ६५० बिरुवा रोपेका थिए। तेस्रो वर्षबाट उत्पादन शुरु भएको हो ।

अधिकारीले कागती लगाएको तेस्रो वर्ष तीन लाख रुपैयाँ र चौथो वर्ष आठ लाख रुपैयाँ आम्दानी गरिसकेका छन् । यस वर्ष १० लाख रुपैयाँको कागती बिक्री गर्ने उनको लक्ष्य छ । असार १५ देखि चैतसम्म उनको कागती बिक्री हुने गर्दछ ।

यस वर्ष पाँच बिघा थप गर्ने लक्ष्य रहेको भए पनि लकडाउनका कारण सम्भव नभएको उनले बताए। आउँदो वर्ष उनी खेती बिस्तार गर्दै छन् ।

वर्षमा एक लाख ५० हजार रुपैयाँदेखि दुई लाखसम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेको उनको भनाइ छ ।

कागती लगाउँदा प्रतिबिरुवा १८५ रुपैयाँमा खरिद गरेपछि पछिल्ला वर्षहरुमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ ।

भाडाको जग्गाको वार्षिक प्रतिकठ्ठा रु तीन हजार तिर्नुपर्ने हुन्छ । विज्ञानमा स्नातक गरेका अधिकारीका लागि पढाउन जहाँ कहीँबाट बोलाउने गरिन्थ्यो ।

त्यसो त ट्युसन, कोचिङमा पनि राम्रो आम्दानी हुन्थ्यो तर ती सबै छाडेर शुरुमा बाख्रा पाल्दा त्यति सफल हुन नसकेपछि उनले कागती खेतीमा हात हालेको बताए ।

सत्र वर्ष शिक्षण पेशाको अनुभव सँगालेका उनी यतिबेला कागतीको अध्ययन–अनुसन्धानमा पनि व्यस्त छन् ।

कागतीको बिरुवा उत्पादन गर्ने तयारीमा उहाँ जुटेका छन् । भारतीय कागती नेपाली बजारभरि हुने तर हामी बाँझो खेत र खाली हात बसिरहेको भन्दै उहाँले मिहेनत गर्यो भने यहीँ मनग्य आम्दानी हुने बताए।

चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागती बिक्री हुने उनको भनाइ छ । कालिका नगरपाकिलामा १० जनाले व्यावसायिक कागती खेती गरेका छन् । जिल्लामा यो सङ्ख्या ५० हाराहारी रहेको छ । यहाँ १०० बिघामा कागती खेती भएको अनुमान छ ।

प्रतिकिलो १०० रुपैयाँ देखि २०० सम्ममा कागती बिक्री हुने गर्दछ । भारतीय कागतीको प्रभाव, यहाँका किसानले अनुदान नपाउनु, प्राविधिक सहयोग नहुनुजस्ता कारण काममा कठिनाइ हुने गरेको अधिकारीले बताए ।

उनले भने, “स्वदेशमै बसेर आफैँले मिहेनत गर्न सकेमा यहीँ सफलता हासिल गर्न सकिन्छ ।” आफूले पाँच वर्षमा सिकेको ज्ञान बाँड्न तयार रहेको भन्दै उनले कागती खेती गर्नेहरुलाई सहयोग गर्न इच्छुक रहेको बताए ।

सोही क्षेत्रका पत्रकार शिशिर सिम्खडाले अधिकारी नमूना कृषक भएको बताए । नपढेकाहरुले मात्र होइन पढेकाहरुले पनि कृषिकर्ममा लाग्नुपर्छ भन्ने उदाहरण उनले दिएको बताए ।

राज्यले सहयोग गर्न सकेमा नेपालमा नै कागतीमा आत्मनिर्भर बन्न सक्ने उहाँको मेहेनतले देखाएको सिम्खडाको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?