पत्रकार महासङ्घ कास्कीमा आबद्ध पत्रकारको बीमा

चिप्लेढुङ्गा । नेपाल पत्रकार महासङ्घ कास्कीले आफ्ना सदस्यको कोरोना बीमा गराएको छ । तमु धिं युकेको आर्थिक सहयोगमा २६१ जनाको बीमा गरिएको महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

महासङ्घमा आबद्ध ३०२ मध्ये बाँकी ४१ पत्रकारले आ-आफ्ना सञ्चारगृहबाट र अन्य केहीले व्यक्तिगत ढङ्गले पहिले नै कोरोना बीमा गरेका छन् ।

श्रेष्ठले देशभरि नै यति धेरै पत्रकारको बीमा गर्ने महासङ्घ कास्की पहिलो संस्था भएको जिकिर गरे ।

उनले पत्रकारको बीमाका लागि आर्थिक सहयोग उपलब्ध गराउने युकेको प्रतिष्ठित गोरखा कप तथा नेपाली मेलाको आयोजक संस्था तमु धिं युकेप्रति हार्दिक आभार व्यक्त गरे ।

प्रत्येक पत्रकारको बीमा शुल्क ६०० रुपैयाँ रहेको छ । कोरोना बीमा बीमित पत्रकारलाई पिसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा एकमुष्ठ एक लाख रुपैयाँ प्रदान गरिने बीमा कम्पनीले जनाएको छ ।

पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपाल पत्रकार महासङ्घ कास्की शाखाको गत सोमवार बसेको अनलाइन बैठकले पेशागत जिम्मेवारीका कारण कोरोनाको जोखिममा अग्रपङ्क्तिमा रहेका कास्कीका सबै पत्रकारको कोरोना बीमा गर्ने निर्णय गरेको थियो ।

सदस्य पत्रकारको कोरोना बीमा गर्न गत मङ्गलबार महासङ्घ कास्की र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबीच सात बुँदे लिखित सम्झौता भएको शाखाका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

तिमिल्सिनाका अनुसार पत्रकारको बीमाका लागि नेपाल पत्रकार महासङ्घ कास्कीमार्फत तमु धिं युकेबाट प्राप्त एक लाख ८० हजार रुपैयाँ मध्ये महासङ्घका सदस्य पत्रकार (२६१) को बीमा शुल्क एक लाख ५६ हजार ६०० रुपैयाँ भुक्तानी गरी बाँकी रकम २३ हजार ४०० रुपैयाँ सहयोगदाताकै आग्रहमा महासङ्घमा आवद्ध नभएका आदिवासी जनजाति पत्रकारको बीमा गर्नका लागि फोनिज कास्कीलाई हस्तान्तरण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?