भद्रपुर । झापाको मेचीनगरमा रहेका दुई सामाजिक संस्थाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारसँग मिलेर समुदायको हितमा उल्लेख्य काम गरिरहेका छन् ।
मेची अभियान र काँकडभिट्टा सोसाइटी नामक संस्थाले विपन्नलाई राहत वितरण, स्थानीय सरकारलाई भिटीएम सहयोग र सीमानाकामा अलपत्र परेकालाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेका हुन् ।
मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाको संयोजकत्वमा विसं २०७२ मा भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्न स्थापना गरिएको मेची अभियानले कोरोना महामारीका बेलासमेत विपन्नलाई राहत र अग्रपङ्क्तिमा परिचालित स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई पिपिइसेटसहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्यो । अभियानले झापाका स्थानीय तहलाई पिसीआर परीक्षणका लागि अति आवश्यक भिटीएम किटसमेत निःशुल्क उपलब्ध गराएको छ ।
काँकडभिट्टा नाकाबाट कोरोना सङ्कट शुरु भएयता एक लाखभन्दा बढीले सकसपूर्वक ओहोरदोहोर गरिसकेका छन् ।
सरकारले नाका सिल गरेपछि पनि आउजाउ रोकिएको छैन । यस्तो अवस्थामा नाकामा मेचीपुलमुनि रातसमेत बिताउन बाध्य नेपाल तथा भारतका नागरिकलाई सोसाइटीले निःशुल्क खाना खुवाउँदै आएको छ ।
युवासङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, नेपाल तरुण दल झापाका पूर्वअध्यक्ष गोपाल तामाङ, राप्रपा मेचीनगरका अध्यक्ष सुशील आचार्य, काँकडभिट्टा खानेपानी कार्यालयका प्रमुख दीपक पोखरेल, राजकुमार पराजुलीसहित काँकडभिट्टाका पाँच युवाले स्थापना गरेको सोसाइटीले दातासँग मिलेर २० हजार जनालाई खाना खुवाउने काम गरिसकेको छ ।
“नेपालका विभिन्न इँटा उद्योगमा काम गरेर फर्किएका भारतीय मजदूर सीमानाकामा तीन–चार दिनसम्म बालबच्चासहित भोकभोकै अलपत्र परेको देखेर माया लाग्यो”, सोसाइटीका अगुवा सदस्य गोपाल तामाङले भने, “सङ्कटमा मानवीय सहयोग गर्नुपर्छ, भोको हुन कसैलाई दिनुहुन्न भन्ने भावनाले हामीलाई सोसाइटीको स्थापना गर्न उत्प्रेरित गर्यो ।”
सोसाइटीले दैनिक ५०० देखि एक हजार ८०० सम्मलाई विगत १५ दिनदेखि खाना खुवाउँदै आएको छ । खाना खुवाउने अभियानमा हाल स्थानीयवासीसमेत आवद्ध भएका छन् । प्रहरी र नगरपालिकाले समेत सघाउन थालेको छ ।
उनीहरुले एकअर्कामा कार्यविभाजन गरेर खाद्यान्न, तरकारी जुटाउने र नेपालबाट भारत जाने मजदुरलाई दशगजा क्षेत्रमै प्रहरीको सहयोगमा बसपार्क र मेची पुलमुनि नै खाना खुवाउने व्यवस्था गरेका छन् । भारतबाट नेपाल आएकालाई भने काँकडभिट्टामा रहेको होल्डिङ सेन्टरमा खाना खुवाउने व्यवस्था मिलाइएको तामाङको भनाइ छ ।
उनका अनुसार जिल्ला कोरोना रोकथाम, नियन्त्रण तथा जिल्ला समन्वय समितिले ४० बोरा चामल, मेचीनगरको वडा नं ६ ले २० बोरा चामल, प्रदेश नं १ का सांसद श्रीप्रसाद मैनालीले २० देखि २५ दिनलाई पुग्ने ग्यासको व्यवस्था गरिदिएका छन् भने विनिता श्री टे«डर्स एण्ड सप्लायर्स इटहरी र इटहरीकै समाजसेवी शारदा ढकालले खाद्यान्न खरिदका लागि दुई–दुई लाख सहयोग गरेकी छन्। खाना प्याकेजिङ गर्ने प्याकेट भने मेचीनगर नगरपालिकाले सहयोग गरेको छ ।
नेपाल बहुउद्देश्य सहकारी संस्थाले दैनिक ५० केजी अर्ग्यानिक सब्जी अभियनलाई दिने गरेको उनले बताए । सोसाइटीले पकाएको खानालाई प्याकेजिङ गर्ने काममा नेपाल स्काउट र काँकडभिट्टा रोट्र्याक क्लबका युवाले सहयोग गरिरहेका छन् । सोसाइटीले हालसम्म २० हजारभन्दा बढीलाई खाना खुवाइसकेको जनाएको छ ।
मेचीनगरको मेची अभियानले जिल्लाभरमै सहयोग विस्तार गरेको छ । अभियानलाई देशभित्रबाट मात्र नभएर विदेशबाट नेपालीले स्वतःस्फूर्तरूपमा सहयोग पठाइरहेका छन् ।
झापाका आठ पालिकालाई ५०० भिटीएम वितरण गरिसकेको र अरु ५०० भिटीएम सात पालिकालाई दिने तयारी भइरहेको अभियानका संयोजक विजय डालमियाले बताए । उनले हालसम्ममा बन्दाबन्दीका कारण रोजगारी गुमेर भोकै परेका ३०० मजदुरलाई दुई चरणमा खाद्यान्न सामग्री राहतस्वरुप वितरण गरेको बताए ।
हालै अमेरिकामा रहेका नेपालीले आठ लाख ४९ हजार रुपैयाँ रकम अभियानलाई पठाइदिएको बताउँदै उनले भने, “हामीले सहयोगका लागि आह्वान गर्नुपरेन, सही काम गर्दा सहयोग आफैँ जुट्दोरहेछ ।” अभियानका संयोजक डालमियाले अभियानले प्रदेश नं १ को सरकारलाई १०० थान, विराटनगर उपमहानगरपालिकालाई ५० थान र मेचीनगर नगरपालिकालाई ५० थान पिपिइसेट सहयोग गरेको जानकारी दिए ।
अभियानले मेची अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, चारआली र विर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन अगाडि डिसइन्फेक्सन टनेलसमेत जडान गरेको बताए ।
“काम गर्न पैसाको अभाव छैन”, उनी भन्छन्, “स्थानीय सरकारले पिसीआर ल्याब राख्यो भने आर्थिक सहयोग अभियानले जुटाउँछ ।” बन्दाबन्दीको समयमा कर्णाली प्रदेशका ४० जना पानीट्याङ्कीमा अलपत्र परेका र उनीहरुलाई खानाको व्यवस्थासमेत अभियानले नै गरेको थियो भने काठमाडौँमा अलपत्र परेका मेचीनगरका ३८ विद्यार्थीसमेत उद्धार गरेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया