प्रदेश-२ समाचार : एक हजार ६०० सङ्क्रमित

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराए ।

यस प्रदेशबाट पछिल्लो २४ घण्टामा ८२ सङ्क्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीवार चार महिलासहित १७ निको भएर घर फर्केका छन् ।

त्यस्तै गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसनकक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् । अहिलेसम्म यस प्रदेशबाट ३८१ स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

स्वाब र क्वारेन्टाइनको अवस्था

यस प्रदेशमा ३० हजार ५४३ को स्वाब सङ्कलन गरिएकामा १३ हजार ८४२ को रिपोर्ट नेगेटिभ आएको छ भने १५ हजार ९९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यस्तै १३ हजार ७१६ को आरडिटीबाट परीक्षण गर्दा ६३९ को रिपोर्ट पोजिटिभ र १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस प्रदेशमा ४२८ क्वारेन्टाइनमा १८ हजार ८९४, होम क्वारेन्टाइनमा आठ हजार ८१२ र आइसोलेसनमा ७०१ जना बसेका छन् ।

१७ जनाले जिते कोरोना

सप्तरी– कोरोना भाइरसको सङ्क्रमण देखिएका सप्तरीका १७ जना एकैपटक निको भएर बिहीवार घर फर्किएका छन् ।

भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टिनमा खटिँदा सङ्क्रमित दुई प्रहरी आइसोलेसनबाट बिहीवार साँझ बिदा भएका हुन् ।

हरियाणाबाट आएका बोदेबर्साइन नगरपालिका–९ का ४१ वर्षीय पुरुषले गाउँ आएको एक महिनापछि घर जाँदा खुशी लागेको बताए ।

आफ्ना कारणले घरपरिवार, समाजमा कोरोना फैलिन दिनु हुँदैन भनेर हरियाणाबाट गाउँ आए पनि सोझै क्वारेन्टाइनमा गएको उनले बताए ।

आइसोलेसनमा बसेको १५ दिनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर घर फर्किन लागेको उनले जानकारी दिए।

रामसहित बोदेबर्साइन नगरपालिकाका आठ, राजविराज नगरपालिका–१० का तीन, बलानबिहुल गाउँपालिकाका दुई, खडक र बिष्णुपुरका एकरएक तथा सुरुङ्गाको क्वारेन्टाइनमा खटिएका सिरहा धनगढी–१० का प्रहरी सहायक निरीक्षक र बोदेबर्साइन क्वारेन्टाइनमा खटिएका पर्सा जगरनाथपुर–६ का प्रहरी हबल्दारले कोरोना जितेका हुन् ।

उनीहरुलाई राजविराजस्थित साइकष्णा कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेसनमा राखिएको थियो ।

अस्पतालमा उपस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, कोभिड–१९ व्यवस्थापन इन्चार्ज डा रणजीतकुमार झा, डा. जितेन्द्र यादवले बिदाइ गरे ।

स्वाब सङ्कलन स्थगित

धनुषा– प्रदेश नं २ को विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाबमध्ये आधा जतिको परीक्षण परिणाम नआएकाले बिहीवारदेखि नयाँ स्वाबको सङ्कलन स्थगन गरिएको छ ।

प्रदेश नं २ सरकारले विभिन्न क्वारेन्टाइनमा रहेका र शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबमध्ये आधाको परिणाम आउन नसकेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ मा हालसम्म ३० हजार ५४३ को स्वाब सङ्कलन गरेकामा १५ हजार ९९ जनाको स्वाबको परिणाम नआएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक एवं वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

अहिले प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा १८ हजार ८९४ छन् भने होम क्वारेन्टाइनमा आठ हजार ८१२ रहेको बेलामा स्वाब परीक्षणमा भएको ढिलाइका कारणले हालका लागि स्वाब सङ्कलन रोकिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?