कोरोनालाई जितेर २० सङ्क्रमित घर फर्किए

लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलवार घर फर्किएका छन् ।

उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा. सुभाष मण्डलले जानकारी दिए ।

विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएको उनले जानकारी दिए । निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाएका थिए ।

बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु डा. मण्डलको भनाइ छ । यस्तै एकै दिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन् ।

विभिन्न गाउँपालिकामा मङ्गलवार थपिएका सबै सङ्क्रमितलाई सो अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए।

सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रजिअ गुरागाईले बताए। योसँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?