काठमाडौं – परीक्षणको दायरा केही बढाउनेबित्तिकै नेपालमा कोरोना संक्रमित तिव्र रुपमा बढेका छन् ।
नेपालका प्रदेश २ र ५ सबैभन्दा बढी प्रभावित भएका छन् । ७ प्रदेशमध्ये अन्तिममा कोरोना देखिएको कर्णालीमा पनि कोरोना भाइरस ‘कोभिड – १९’ का संक्रमित धमाधम थपिन थालेका छन् । यस प्रदेशको दैलेख जिल्लामा पहिलोपल्ट संक्रमण देखिएको थियो ।
प्रदेश २ मा १ हजार ३ सय ४२ जना संक्रमित भएका छन् । १ जनाको मृत्यु भएको छ भने अहिलेसम्म एक सय ८६ जना निको भएका छन्।
प्रदेश २ पछि सबैभन्दा प्रभावित प्रदेश हो, प्रदेश ५ । त्यहाँ एक हजार १ सय ७६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश ५ मा हालसम्मा चार जनाको मृत्यु भएको छ भने एक सय ५३ जना संक्रमणपश्चात् उपचार गरी निको भएर घर फर्केका छन् ।
कर्णाली प्रदेशमा हालसम्म ६ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । यस प्रदेशमा मृतकको संख्या ३ छ भने ९ जना संक्रमित उपचार गरेर निको भई घर फर्केका छन् ।
प्रदेश १ मा दुई सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्केका छन् । यहाँ कोरोनाबाट मृत्यु भएको रेकर्ड छैन ।
गण्डकी प्रदेशमा ११३ जना संक्रमित छन् भने तिमध्ये ३ जना निको भएका छन् । यस प्रदेशमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा १११ जना संक्रमित छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ भने १३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्केका छन् ।
७ प्रदेशमध्ये वाग्मती प्रदेशमा ९२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ३३ जना संक्रमित उपचार गरेर निको भएर घर फर्केका छन् ।
संक्रमित र मृतक थपिएको थपियै
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
यस्तै कोरोना संक्रमणको पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । जसमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।
कति भयो परीक्षण ?
हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।
क्वारेन्टाइनमा छन् १ लाख ६६ हजार बढी
सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन भने आइसेलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थपिए ३१४ संक्रमित, हिजो एकैपटक २१३ जनामा पुष्टि
नेपालमा आज ९सोमवार० एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा हिजो (आईतवार) एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा थप २१ जनाले जिते कोरोना
नेपालमा थप २१ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ४ सय ८८ पुगेको छ । आज संक्रमण निको हुनेमा बाँकेका २० जना रहेका छन् । उनीहरु नरैनापुराका १३ देखि ५२ वर्षिया पुरुष रहेका छन् ।
उनीहरु कोरोना संक्रमण देखिएको १५ देखि २० औं दिनमा कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै, काठमाडौंको बलम्बु अस्पतालबाट १ जना २३ वर्षिया महिला डिस्चार्ज भएकी प्रवक्ता गौतमले जानकारी दिए ।
कोरोना संक्रमण जितेर घर फर्कने कुल ४ सय ८८ जना मध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया