भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनः निर्माण गरिदिने

काठमाडौं । भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने भएको छ ।

गोरखा, नुवाकोट, धादिङ्, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण हेतु भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको २.९५ अर्ब नेपाली रुपैयाँ आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण जनाइएको छ ।

साथै भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको भारतीय दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?