प्रभावकारी बन्दै बालिका विकास बचत खाता कार्यक्रम

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आर्थिक वर्ष २०७५र०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता खोलिदिने गरेको छ ।

खोलिएको खातामा गाउँपालिकाले १० हजार रुपैयाँ जम्मा गरिदिने गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

गर्भमै पहिचान गरी बालिकाको भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहन गर्न र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहित गर्न बालिका विकास कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताइन् ।

कार्यक्रम शुरु भएको दुई वर्ष हुन लागेको छ । यस अवधिमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका ४१ बालिकाको बालिका विकास बचत खाता खोलिएको छ ।

कार्यक्रमका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ । पहिलो आर्थिक वर्षमा पाँच लाख रुपैयाँ छुट्ट्याएको गाउँपालिकाले चालु आर्थिक वर्षमा सात लाख रुपैयाँ विनियोजन गरेको थियो ।

बालिका विकास बचत खाता कार्यक्रमसँगै स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?