सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक थिए । उनको यही जेठ १७ गते क्वारेन्टाइनमा नै मृत्यु भएको थियो ।
त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना सङ्क्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।
कोरोनाको सङ्क्रमणकै कारण जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिए। भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब सङ्कलन गरी जुम्ला प्रतिष्ठानमा पिसिआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा रावलले बताए।
सुर्खेतबाट यही जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरुमा क्वारेन्टिनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टाइनमा राखिएको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो । कर्णालीमा मृत्यु हुने तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया