काभ्रेका ५ जनामा देखियो कोरोना संक्रमण

काभ्रे । काभ्रेपलाञ्चोकका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जिल्लामा एक महिलासहित पाँच जनामा कोरोना सङ्क्रमण देखिएको आज जनाएको छ ।

रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एकमा कोरोना सङ्क्रमण पुष्टि भएकोको कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनले भने, “काभ्रेका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।” उहाँका अनुसार सङ्क्रमितमध्ये एक महिला हुन् ।

सङ्क्रमितमध्ये तीन पुरुष र एक महिला केही दिनअघि मात्रै भारतबाट काभ्रेपलाञ्चोक आएको कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमित महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएको र शल्यक्रियाअघि ती महिलाको पिसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको पोष्टले जनाएको छ । उनी पनौती निवासी हुन् । पाँचखालका सङ्क्रमित क्वारेन्टाइन बसाइपछि घर फर्किएका व्यक्ति हुन् । रोशीका तीन सङ्क्रमित भने क्वारेन्टाइनमै रहेको जनाइएको छ । सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको प्रमुख डा झाले बताए ।

यसअघि यही जेठ १ गते राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ रामचोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो ।

भारतबाट करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका विदेशिएका काभ्रेलीमध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टाइन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहँदै आएको कमाण्ड पोष्टको तथ्याङ्कले देखाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?