प्रतिष्ठानले स्थानीय तहमा खटायो चिकित्सक

सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई/दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य छ गाउँपालिकामा दुईरदुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा. कमलराज शर्मा र प्रा. डा. रामप्रसाद उप्रेतीलाई खटाइएको छ ।

यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा. सुनिल बुढाथोकी र प्राध्यापक सुष्मा काफ्लेलाई खटाइएको छ ।

जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाईं, डेण्टल सर्जन भुमेष काफ्ले, तिला गाउँपालिका लेक्चर सञ्जीव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र सर्जन दृष्टिराज जोशीलाई खटाइएको प्रतिष्ठानले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकामा डा. शम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा. प्रवीण गिरी र डा. अर्जुन तिवारी खट्ने भएका छन् ।

यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा. महिमा थापालाई खटाइएको छ ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले चिकित्सक पठाउन नसकेको भन्दै तत्काल चिकित्सक पठाउन अनुरोध गरेका थिए। गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचारसमेत गरेको थियो ।

यसैगरी हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी एक जना अध्ययनमा गएका र अर्को व्यवस्था अहिलेसम्म नहुँदा सङ्कटको घडीमा पनि समस्या भएको गाउँपालिकाले जनाउँदै आएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले स्वास्थ्य र सुरक्षाको क्वारेन्टाइनमा ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका सबै स्थानीय तहमा एक/एक चिकित्सक पठाउने प्रतिबद्धता जनाएको थियो ।

यसैगरी गाउँपालिकाका एकीकृत क्वारेन्टिनमा समेत सुरक्षा व्यवस्था कडा गर्न जिल्लास्थित सुरक्षा प्रमुखको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

कोरोना रोकथामका लागि युवा परिचालन

जुम्ला– कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् ।

कोरोना सङ्क्रमित क्षेत्र विशेषगरी भारतबाट आएका नागरिक जथाभावी गाउँभित्र बस्न थालेपछि उनीहरुलाई क्वारेन्टाइनसम्म लैजानका युवा परिचालन भएका हुन् ।

बाहिरबाट को नागरिक आएर उनीहरु कहाँबाट आएका हुन् र क्वारेन्टाइनमा बस्ने के गर्दै गरिरहेको भन्ने निगरानी गर्नका लागि पनि युवा दर्ता परिचालन गरिएको चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावलले बताए ।

उनले भने, “लकडाउनको समयमा पनि जथाभावी मानिस भेला हुने, पसल खोल्ने गरेकाले जनसेवा युवा क्लबका युवा परिचालन गरिएको हो । बाहिरबाट आएका मानिस सोझै आफ्नो घर जाने गर्ने गरेकाले यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि पनि युवा प्रयोग गरिएको हो ।”

त्यसैगरी चन्दननाथ नगरपालिका–२ ले पनि स्वयंसेवक परिचालन गरेको छ । आफ्नो वडाको सीमा क्षेत्रका विभिन्न नाकामा स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष धनरासी भण्डारीले जानकारी दिए ।

वडाको दक्षिणको कालेखोली, पूर्व धाइफाला र उत्तरको भण्डारीबाडालगायत नाकामा स्वयंसेवक परिचालन गरी कडाइ गरिएको हो ।

प्रत्येक नाकामा दुई/दुई स्वयंसेवक परिचालन गरिएको वडा कार्यालयले जनाएको छ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गर्ने भएको वडाध्यक्ष धनरासी भण्डारीको भनाइ छ ।

सीमाबाट अत्यावश्यक काममा मात्र आउजाउ गर्न दिइनेछ । अत्यावश्यक काम परे वडा कार्यालयमा जानकारी गराउनुपर्ने वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिनुपर्ने पनि व्यवस्था गरिएको छ । नगरभित्रका अन्य वडाका नागरिक पनि आउन नपाइने र अन्य वडामा पनि जान रोक लगाइएको छ ।

हिमा गाउँपालिका–३ का स्थानीय युवाले जोगीबाडा गाउँ प्रवेशमा रोक लगाएका छन् । १९ वैशाखदेखि स्थानीयवासीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै उनीहरुले आफ्नो गाउँ प्रवेशमा रोक लगाएका हुन् ।

युवाले जोगीवाडा गाउँका सर्वसाधरणलाई अन्य गाउँमा जान नदिने र अन्य गाउँकालाई पनि प्रवेश निषेध गरेका छन् । गाउँघरमा लकडाउनको पूर्ण पालन नगर्ने र आवतजावत धेरै भइरहने भएकाले आफ्नो गाउँलाई सङ्क्रमणबाट जोगाउने भन्दै उनीहरुले चार नाका बन्द गरेका छन् ।

वडाको दक्षिणको साँघु, उत्तरको ताल्छे, पूर्वको तलम र पश्चिमको बोयलढुङ्गाका नाका बन्द गरेको स्थानीय युवा सत्यानारायण योगीले जानकारी दिए ।

विपद्बाट आफू र गाउँवासीलाई बचाउन वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । प्रवेश गर्ने नाकामा मान्छे राखेको छ ।

कोही प्रवेश गरेको खण्डमा त्यो व्यक्तिले १५ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको योगीले बताए। ती व्यक्तिले क्वारेन्टाइनमा बस्दाको खाना खर्च स्वयंले व्यवस्थापन गर्नुपर्ने भनिएको छ ।

गाउँतिर कामको सिजन शुरु भएकाले पनि विभिन्न बहानामा एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्नेको सङ्ख्या बढेको भन्दै यस्तो कार्य गरेको त्यहाँका स्थानीयवासीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?