संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गणेश विक, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले बिहीवार सभामुख सापकोटासँग भेट गरी सो माग गरेका हुन् ।

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो ।

नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको थियो । सोही घटनामा एक बेपत्ता छन् ।

सभामुख सापकोटाले घटनाप्रति आफू संवेदनशील रहेको बताउँदै संसदीय छानबिन समिति गठन गर्न संसदीय दलसँग छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?