क्वारेन्टाइनमै जन्मिए दुई शिशु

डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किएका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।

यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन् । “आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु”, वडाध्यक्ष खड्काले भने, “आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टाइनमा बस्ने गरेर पठाउँछौँ ।”

त्यसैगरी शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टाइनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी छन् । उनी भारतको मुम्बइबाट जेठ १५ गते श्रीमान्सँगै घर फर्किएर क्वारेन्टाइन बस्दै आएकी छन् ।

पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए। अहिले दुबै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?