सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताए । उनले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताए । उनले पहिला आफुलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताए ।

उनले भने ‘दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ । उत्पादनको हिसाबले १५ सय मेट्रिकटन पाउडर दुध थुप्रिएको छ । त्यो बेच्नु पर्ने छ त्यसको करिब करिब दुई ढाई अर्ब त्यहाँ रोकिएको छ । त्यसले गर्दा त्यो रेगुलेट सर्कुलेट हुन पाएको छैन् ।

प्रयत्न गरिएको छ अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ सकिएको छैन् । सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन् । माघ देखि मात्रै ठेक्का लाग्दो रैछ त्यसले गर्दा खेरी प्रोबोलम छ । मान्छेहरुले सामान्य बेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नी भन्छन मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहिन्छ ।’

उनले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डिएपी मल छ र साढे पाँच हजार मेट्रिक टन जती पोटास मल रहेको तर त्यतिले नपुग्ने बताए । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको बताए ।

उनले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम हुने बताए । उनले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताए । यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी समितिलाई गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?