सभामुखलाई ज्ञापन पत्र

काठमाडौं । सांसदहरुले जाजरकोट रुकुम पश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्दे सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

विहिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटी मानबहादुर विश्वकर्मा सहितका केही सांसद र दलित अधिकारको क्षेत्रमा कामगर्ने संस्थाका प्रतिनिधिले संयुक्तरुपमा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्ने तर्फ सरकार गम्भीर नबनेको भन्दै संसदीय विशेष समिति गठन गर्न सभामुखसंग माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गर्ने सम्बन्धमा आफु सकारात्मक रहेको र त्यसबार सबैसंग परामर्श गर्ने प्रतिक्रिया दिएको सांसद मिन विश्वकर्माले जानकारी दिए ।

ज्ञापन पत्रमा सांसदहरुले छुवाछूत मुक्त राष्ट्र घोषणाको १४ बर्षमा प्रवेश गर्दे गर्दा रुकुम पश्चिममा भएको घटनाले नेपालको संविधान, जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ लगायत प्रचलित ऐन कानूनहरु मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र लगायत विभिन्न प्रतिवद्धताहरुलाई रुकुम पश्चिमको घटनाले ठाडै चुनौति दिएकाले आफुहरुको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख गरेका छन् ।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?