पर्यटकीयस्थल हललचौर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–६ मराङको पर्यटकीय सम्भावनायुक्त ठाउँ ठला धुरी (हललचौर) जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।

धवलागिरि गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवालाई परिचालन गरेर राम्चे गाउँदेखि हललचौर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो ।

पदमार्ग निर्माणमा ३० जनालाई परिचालन गरिएको छ । उनीहरुलाई तेह्र दिनसम्म काम लगाइने जनाइएको छ ।

कोरोना भाइरसको जोखिमका बीच लकडाउनको परिपालना गरी सामाजिक दूरी कायम गरेर आयोजना सञ्चालन गरिएको मराङका अगुवा श्रीप्रसाद गर्बुजाले बताए। पदमार्ग निर्माणमा तीन लाख रुपैयाँ विनियोजन भएको छ ।

प्राकृतिक हिसाबले रमणीय र पर्यटकीय सम्भावना भएको हललचौरको विकासका लागि पदमार्ग निर्माण गर्न लागिएको उनले बताए। लकडाउनको समयमा गाउँमै रोजगारी पाउँदा युवालाई राहत मिलेको छ ।

हललचौरबाट धवलागिरि, माछापुच्छ्रे, गुर्जालगायत हिमाल, ग्रामीण बस्ती, पहाडी भूगोल र वनजङ्गलको अवलोकन गर्न सकिन्छ ।

करिव दुई हजार ५०० मिटर उचाइमा अवस्थित हललचौरबाट धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकाको भूगोलका साथै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ ।

पदमार्ग पुर्याएपछि भ्यूटावर, वनभोजस्थललगायत पूर्वाधार निर्माण गरिने वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मराङको बेँसी–राम्चे–हललचौर–मलम्पार–मल्कवाङ–सीमकोश हुँदै धवलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको समेत परिकल्पना गरिएको छ । मल्कवाङ हुँदै मुस्ताङ जोड्ने पदमार्गको समेत सम्भावना छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?