फिदिम । बन्दाबन्दी लम्बिँदै जाँदा यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग पुर्याउन यहाँका सुरक्षा निकायका प्रमुखहरुले जनप्रतिनिधिसमक्ष आग्रह गरेका छन् ।
जिल्लामा सदरमुकाम फिदिमसहितका मुख्य बजारमा मानवीय चहलपहल क्रमशः बढ्दै गएपछि सर्वसाधारणमा सङ्क्रमण फैलन त्रास बढिरहेको छ तर वित्तीय संस्था, निर्माण क्षेत्र, खाद्यान्नलगायतको निर्वाध सञ्चालनमा छन् ।
सुरक्षा निकायका प्रमुखहरुले स्थानीय तहले बन्दाबन्दीको कार्यान्वयनमा अगुवाइ गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपाने ठूला व्यवसायीलाई व्यवसाय सञ्चालनमा छुट दिइएको आमगुनासो सम्बोधन गर्न जनप्रतिनिधिको विशेष भूमिका हुनुपर्ने औँल्याउँछन्। “ठूला व्यवसाय भनेकै खाद्यान्न र निर्माण क्षेत्र छन् ।
यी व्यवसाय निर्वाध सञ्चालन भएपछि साना व्यवसायी असन्तुष्ट छन्”, प्रनाउ न्यौपानेले भने, “स्पष्ट मापदण्ड र समय किटान नहुँदा सुरक्षाकर्मीले अनावाश्यक समस्या भोग्नु परिरहेको छ ।”
सङ्क्रमण नदेखिएको भन्दै मानिस विभिन्न बहानामा अनावाश्यक काममा समेत घर बाहिर निस्कँदा समस्या निम्तिएको प्रनाउ न्यौपानेको भनाइ छ । स्थानीयस्तरमा खाद्यान्नको सङ्कट नै हुने अवस्था सिर्जना नभएकाले खाद्यान्न बिक्री गर्ने व्यवसाय सञ्चालनलाई समेत निश्चित र नियन्त्रित गर्नुपर्ने उनले सुझाव दिए।
प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा स्थानीय तहले स्पष्ट नीतिसहित अग्रसरता लिनेसके मात्रै बन्दाबन्दीको कार्यान्वयन र स्थानीयस्तरमा उठेका प्रश्नको समाधान गर्न सकिने बताउँछन् । “यहाँका नागरिकलाई मनाउनसमेत सहज भएकाले जनप्रतिनिधिले बन्दाबन्दी पालनाको अग्रसरता लिनुपर्छ”, प्रजिअ शर्माले भने, “प्रहरी प्रशासन यहाँ (जनप्रतिनिधि) हरुको पछि लाग्छ ।” खाद्यान्न र निर्माण सामग्रीको दैनिक तथा अनियन्त्रित बिक्री र ढुवानीले मानवीय तथा सवारी चाप बढेको स्वीकार्दै प्रजिअ शर्माले सङ्क्रमण फैलन यस्ता कार्यले सहयोग पुग्नेतर्फ ध्यान दिन आग्रह गरे। सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका प्रमुख शैलेश श्रेष्ठले जनप्रतिनिधिको सहयोगले मात्रै बन्दाबन्दीको प्रभावकारी कार्यान्वयनमार्फत सङ्क्रमण रोकथाम सहज हुने भएकाले सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरे ।
सुरक्षा निकायले स्थानीय तहको अग्रसरताको अपेक्षा राखे पनि जनप्रतिनिधिले त्यस्तो स्पष्ट जवाफ दिएका छैनन् ।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जारी बन्दाबन्दी कसरी अघि बढ्छ भन्ने विषय सबैको चासोको विषय भएकाले सङ्घीय सरकारको निर्णय पर्खनुपर्ने बताए।
उनले स्थितिलाई सामान्य अवस्थामा राख्न सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले सबै पक्ष आफ्नो भूमिका बुझ्नु र सक्रिय हुनुको विकल्प नरहेको पनि बताएका छन् ।
पूर्वी पहाडी जिल्लामा एकै दिन छ सङ्क्रमित भेटिए
यस अघिसम्म कोभिड–१९ का सङ्क्रमित नभेटिएका पूर्वी पहाडका पाँचथर, तेह्रथुम र ताप्लेजुङमा पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमित भेटिएका छन् ।
झापाको वुद्धशान्ति गाउँपालिकास्थित वुद्ध आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका पाँचथरका एक तथा ताप्लेजुङका तीन जनामा मङ्गलवार साँझ कोरोना सङ्क्रमण भेटिएको थियो ।
भारतको लखनउबाट आइ क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाबको रिपोर्ट पोजेटिभ आएको हो । वुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य एकाइका प्रमुख भोलानाथ अधिकारीका अनुसार जेठ १३ गतेदेखि क्वारेन्टाइनमा राखिएको उनीहरुको स्वाब सङ्कलन गरी जेठ १४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
वुद्धशान्ति गाउँपालिकास्थित वुद्ध आदर्श माविको क्वारेन्टाइनमा उत्तरी झापासहित इलाम, पाँचथर र ताप्लेजुङ घर भइ भारतबाट फर्केकालाई होल्डिङ एरियाका रूपमा प्रबन्ध गरिएको छ ।
सङ्क्रमितमध्ये पाँचथरका हिलिहाङ गाउँपालिका घर भएका २० वर्षीय पुरुष, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका घर भएका एक ४० वर्षीय तथा दुई १८ वर्षीय पुरुष छन् ।
उनीहरु सबैलाई मङ्गलवारै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य एकाइका प्रमुख अधिकारीले जानकारी दिए।
यस्तै पूर्वी तेह्रथुमको आठराइ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई जनामा समेत कोरोना पोजेटिभ देखिएको छ ।
उनीहरुमध्ये एक पुरुष तथा एक महिला छन् । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले प्रदेशभरि पछिल्लो २४ घण्टामा १३ नयाँ सङ्क्रमित थपिएकामा दुई तेह्रथुमको आठराइका रहेको पुष्टि गरेको छ ।
उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । झापाबाट पाँचथर हुँदै तेह्रथुम गएका उनीहरुका सङ्क्रमण देखिएपछि यहाँ सतर्कता बढाइएको छ ।
सङ्कट केन्द्रित बजेट निर्माण गर्न आग्रह
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कोभिड–१९ को सङ्क्रमणद्वारा सिर्जित सङ्कट केन्द्रित नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।
कोभिड–१९ सङ्क्रमण अझै बढ्नसक्ने र यसले स्थानीय तहलाई ठूलो व्ययभार पर्ने बताउँदै मन्त्री आङ्बोले सङ्कट सामना गर्नेतर्फ विशेष ध्यान दिन आग्रह गरे ।
कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण तथा बन्दाबन्दी अन्त्यपछि समेत अर्थ व्यवस्था र सर्वसाधारणको जीवन सामान्य अवस्थामा जान नसक्ने भएकाले ती सबै पक्षलाई विशेष ध्यान दिन उनले स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।
सोमवार गृहजिल्ला पाँचथरका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग तथा बुधवार जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा सरकारी निकायका प्रमुखसँग ‘भर्चुअल’ बैठकमा मन्त्री आङ्बोले आगामी आर्थिक वर्षको बजेटलाई परम्परागत प्रकारको नबनाउनसमेत आग्रह गरे ।
उनले सानो आकारको बजेट निर्माण गर्न स्थानीय तहहरुलाई आग्रह गरे। “राजश्व बाँडफाँट र वित्तीय समानीकरणको बजेट यो सङ्कटका कारण कम आउनसक्छ । स्थानीय तहले अहिले ठूलो आकारको बजेट बनाउने र पछि समस्या पर्ने काम गर्नुहुन्न”, मन्त्री आङ्बोले भने, “जनताका अत्यावाश्यक समस्या हल गर्ने बजेट ल्याऔँ ।” सङ्घीय सरकारबाटै बजेटको आकार घट्दै जाँदा स्थानीय तहहरुमा सङ्घ वा प्रदेश सरकारले एक्लै विकास आयोजना सञ्चालन गर्न नसक्ने बताउँदै ठूला र अत्यावाश्यक योजना सञ्चालनका लागि समपुरक कोषमा रकम सञ्चित गर्न आग्रह गरे।
भर्चुअल बैठकमा स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सघन उत्पादन हुने बालीको पकेट क्षेत्र निर्माणका लागि बजेट छुट्याउन माग गरे ।
जिल्लाको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले गाउँपालिकालाई कफीको पकेट क्षेत्र बनाउन तथा व्यवसायिक पशुपालनमा जोड दिइ सुक्खा र खडेरी प्रभावित कृषकहरुको जीविकोपार्जनको वैकल्पिक माध्यम निर्माणका लागि बजेटको प्रबन्ध गर्न आग्रह गरे ।
उनले आवासीय विद्यालय स्थापनाको योजना अघि बढाउन माग गरे। फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले किबी, अकबरे खुर्सानीको पकेट क्षेत्र बनाइ कोभिड–१९ को महामारीका कारण गाउँ फर्केका युवालाई स्थानीयस्तरमै रोजगारी दिन बजेट छुट्याउन माग गरे।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले प्रत्येक वडामा सामुदायिक भवन निर्माण गर्ने योजना ल्याउन आग्रह गरेका छन् ।
जनप्रतिनिधिहरुले विगतका वर्षहरुबाट सञ्चालित विकास योजनालाई पूर्णता दिन, बन्दाबन्दीको प्रभावमा परेका विकास योजनाको बजेट निकासाको प्रबन्ध मिलाउन, स्वास्थ्य संस्थाको स्तरोन्नति गर्न, विद्युतीकरणको कार्य पूरा गर्न तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योग स्थापनाका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेटको प्रबन्ध गर्न आग्रह गरे । पाँचथरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने मन्त्री आङ्बो र जनप्रतिनिधिले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका प्रयासवारे समेत छलफल गरेका छन् ।
उक्त छलफलले विशेषत भारतबाट आउने जिल्लावासीलाई होल्डिङ क्षेत्रमै पिसीआर परीक्षणपछि जिल्ला भित्र्याउने तथा होल्डिङ क्षेत्रमा ठूलो चाप भए जिल्लामा ल्याइ क्वारेन्टाइनमा राखेर पिसीआर परीक्षणपछि घर पठाउने निश्कर्ष निकालेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया