घोडाघोडी । कैलालीका विभिन्न स्थानीय तहका प्रमुखले अहिले पालिकामा सञ्चालन भएका क्वारेन्टाइनको विकल्प खोज्नुपर्ने बताएका छन् ।
भारतबाट फर्किने नेपालीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवस्थापनमा समस्या भएको तथा फर्कने नेपालीको सङ्ख्या अझै बढ्ने अवस्था देखिएको भन्दै पालिका प्रमुखहरूले यस्तो बताएका हुन् ।
कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले आफ्नो पालिकामा अब भारतबाट आउनेलाई व्यवस्थापन गर्न नसकिने भन्दै सङ्घीय सरकारका प्रतिनिधि र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताएका छन् ।
प्रमुख चौधरीले ठूलो सङ्ख्यामा आएकाहरूको व्यवस्थापन गर्न क्वारेन्टिनको मापदण्ड पूरा नगरी क्वारेन्टाइन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको र त्यस्ता क्वारेन्टाइनबाट झनै जोखिम रहेको बताउँदै विकल्प खोज्नुपर्ने बताए ।
भारतमा रहेका नेपालीको बढ्दो आवागमन तथा पालिकामा मौज्दात रहेको भौतिक संरचना र जनशक्तिले थेग्न निकै चुनौती रहेको कारण क्वारेन्टाइनलाई सञ्चालन गरेर नागरिकको व्यवस्थापन गर्न निकै चुनौती रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए। प्रमुख चौधरीले पालिकाभरिका जनप्रतिनिधि, सामाजिक अगुवा, शिक्षक तथा युवा शक्ति लाग्दासमेत व्यवस्थापनमा समस्या भएको भन्दै क्वारेन्टाइनको विकल्पमा होम क्वारेन्टाइनको व्यवस्थापनलाई अघि सार्नुपर्नेमा जोड दिए ।
कैलालीकै गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद पालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालय तथा सार्वजनिक भवन गरेर ३३ क्वारेन्टाइनमा दुई हजार ५०० मानिसलाई राखिरहेको र अझै पनि भारतबाट आउने नेपालीको सङ्ख्यामा कमी नआएकाले पालिका यो भार धान्न सक्ने स्थितिमा नरहेको बताउँछन् ।
नगरप्रमुख साउद सार्वजनिक क्वारेन्टाइनको विकल्पमा होम क्वारेन्टाइनको व्यवस्थापनलाई अघि बढाउनुपर्ने बताउँछन् । स्थानीय तहले आफ्नो क्षमताअनुसारको व्यवस्थापन गरिरहेको तर त्यो पूर्णरूपमा पर्याप्त नभएको स्वीकार गर्दै साउदले यो सङ्कट समाधानका लागि कडा केन्द्रीय नीति अघि सारिनुपर्नेमा जोड दिए ।
जोखिमपूर्ण क्वारेन्टिनको विकल्पका रूपमा होम क्वारेन्टाइनलाई प्रोत्साहन गर्नुपर्ने धारणा कैलालीको लम्किचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँको पनि छ । नगरप्रमुख बजगाईँ ठूलो सङख्यामा नेपाली फर्कंदा व्यवस्थापनमा धेरै समस्या भइरहे पनि पालिका क्षमताअनुसारको व्यवस्थापनमा जुटिरहेको बताउँछन् ।
प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गर्दा पनि सामूहिक बसाइ, सामूहिक शौचालयको प्रयोग तथा सामूहिक धारा बाध्यात्मकरूपमा प्रयोग गर्नुपर्दा जोखिम रहेकाले क्वारेन्टाइनको विकल्पमा होम क्वारेन्टाइनको अभ्यासलाई अनुशरण गर्नुपर्ने बताउँछन् ।
पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या अत्यधिक बढेपछि कैलालीका विभिन्न स्थानीय तहमा ३१६ क्वारेन्टाइन निर्माण गरिएका छन् ।
जसमा दुई हजार ३०० साठी महिला तथा १२ हजार ३१५ पुरुष गरेर जम्मा १४ हजार ६७५ क्वारेन्टाइनमा बसिरहेको सुदूरपश्चिम स्वास्थ्य निदेशनालयको तथ्याङ्क छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया