पाकिस्तानले शुरू गर्यो अन्तर्राष्ट्रिय उडान

इस्लामावाद । कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले शुरु गरेको छ । पाकिस्तानले शुक्रवार रातिदेखि अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो ।

पाकिस्तान सरकारले कोरोनाभाइरस संक्रमणका कारण यसको नियन्त्रण गर्न नियमित गतिविधिमा पनि रोक लगाएको थियो । तर शुक्रवारदेखि यहाँका अन्य नियमित गतिविधिहरुमा पनि खुकुला पार्ने नीति लिएको छ ।

उक्त निर्णयसँगै अन्तर्राष्ट्रिय उडानहरुमा लगाएको प्रतिबन्ध पनि शुक्रवार रातिदेखि नै फुकुवा गरेको बताएको छ ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गरेर सो जानकारी दिएको थियो र सोही बमोजिम शुक्रवार रातिबाट उडान शुरु भएको हो ।

प्राधिकरणले देशभित्रका आन्तरिक उडानहरुलाई पनि विस्तारै विभिन्न चरणमा गरी यसअघि नै शुरू गरिसकेको छ ।

पाकिस्तान सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रवार राति २३ः५९ पछि सुरू भएका समाचारमा जनाइएको छ ।

पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया सरकारले पहिले नै तोकेको थियो ।

यहाँबाट गरिने विदेशी उडानहरुका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।

हरेक विमानलाई उडान सुरु गर्नुपूर्व स्यानिटाइज गर्ने तथा विमानस्थलमा भीडभाड नगर्नेलगायतका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरु अपनाउनुपर्ने नियम यहाँका उड्डयन अधिकारीहरुले बनाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?