सफल जीवनको लागि : यसो गरे कसो होला ?

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ बाट विश्व आतंकित छ । अवस्था भयावह छ ।

विश्वभर स्वास्थ्य चुनौतिको रुपमा खडा भएको यस भाइरसको कारण यो सामाग्री तयार पार्दासम्म विश्वभर ३ लाख ५२ हजार ४ सय ६१ जना मानिसको ज्यान गएको छ भने ५६ लाख ९८ हजार २ सय ४६ जना बिरामी छन् । उनीहरुमध्ये ५३ हजार १ सय २७ जनाको अवस्था गम्भिर छन् । २४ लाख ४३ हजार ७१८ जना निको भएका छन् ।

यो महामारीबाट नेपालमा पनि ४ जनाको मृत्यु भइसकेको छ भने नेपालमा यस महामारीबाट बच्न लकडाउनको नीति अपनाईएको ६५ औँ दिन बितेको छ । तर लकडाउन लम्बिँदै जाँदा संक्रमित थपिइरहेका छन् ।

यस्तो विषम परिस्थितीमा डरैडरमा एक ठाउँमा सिमीत भएर बस्दा धेरैको मनोबल घटेको छ भने मनस्थिती खल्बलिएको छ ।

विज्ञहरुको यस महामारीपछि मानिसमा धेरै किसीमका स्वास्थ्य समस्या थप हुनसक्ने भन्दै लकडाउनकाबीच पनि शारीरिक व्यायाम र आफ्नो सरसफाईका कार्य गर्न सुझाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशबासीका नाममा सम्बोधन गर्दै सन्तुलित भोजन, सरसफाई, व्यायाम, योगा लगायतका ५ उपाय दिएका छन् ।

– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।

– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

सबैको चाहना हुन्छ, जीवन आफूले चाहेजस्तै होओस् । आफूले चाहेको गतिमा हिँडोस् । जीवन सुखी होओस् । रमाईलो गरी बितोस् । भनेजति सफलता होओस् । रुन नपरोस् सुखसयलमा बाँचौँ ।

ग्रिसका प्रतिष्ठित दार्शनिक एरिस्टोटलले भनेका छन्, हामी त्यही हौँ, जे हामी बारम्बार गर्छौ । हो, उत्कृष्ट कुनै कार्यबाट हुने होइन, बानीबाट हुने हो । राम्रो बानीको विकासले नै जिन्दगी सुन्दर बनाउँछ । तर हामी धेरैको एउटै गल्ति के हो भने हामी स-साना कुराहरु ठिकठाकसँग गर्दैनौँ । र सिंगो जीवन परीक्षणमा बिताउँछौँ । बहानामा गुजार्छौ । रफ्तार कम अल्मलिन्छौँ बढ्ता । वेवास्ता गरिदिन्छौँ । कि भुलिदिन्छौँ कि अपनाउँदैनौँ ।

भगवान् गौतम बुद्ध भन्नुहुन्छ, ‘कसैको बारेमा प्रशंसा गर्नमा समय खेर नफाल बरु राम्रा कुरा अपनाउने कोशिस गर ।’ यदि तपाईले यी ९ वटा सुत्रलाई अनुशासित तरीकाले पालना गर्नुभयो भने पनि जीवनमा खुसीयाली आउँछ । बहार आउँछ । के हुन् ति ९ आनीबानी ?

१. सकारात्मक सोंचको विकास : पहिलो शर्त हो सकारात्मक सोँच । अहिलेको मानिसको पहिलो गल्ति नै यो हो की मानिसहरु सकारात्मक नै सोच्दैनन् । अरुको डाहा गर्ने, कुरा काट्ने, तल पारेर बोल्ने, हेप्ने, होच्याउने, ‘भित्तामा पुग्नेहरु भन्ने’ जस्ता बानीहरुले दोस्रोलाई नोक्सानी गर्दैन । स्वयम् सोच्ने व्यक्तिलाई हानी गर्छ । तसर्थ जीवनलाई जीउने कला सजिलो हुँदाहुँदै मानिसले अन्य गलत बाटो समातेका छन् । र त, जीवन भनेजस्तो शानदार छैन । खुसी छैन । अरु राम्रा कामका लागि पनि तपाईको सोंच महत्वपूर्ण हुने भएकोले यसलाई पहिलो शर्तका रुपमा अघि सारीएको हो । सकारात्मक सोंच्दैमा छिटै सफलता प्राप्ति हुने पक्कै होइन । तर यो कुरा पक्का हो की यसले लामो समयसम्म केही राम्रा काम गर्न हौसला दिइरहन्छ । मनमा शान्ति र दया भाव दिईरहन्छ ।

२. शारीरिक व्यायाम : स्वास्थ्य धन हो । त्यसैले स्वास्थ्यलाई जहिल्यै पनि पहिलो प्राथमिकतामा राख्नुपर्छ । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरैले व्यायाम गर्नै ‘भ्याईँदैन’ भन्छन् । तर स्वास्थ्य नै धन हो भन्ने चेत नआईन्जेल कहिल्यै समय पुग्दैन । व्यायामका फाईदा र यसले जीवन कसरी परिर्वतन गर्छ भन्नेबारे कमैलाई थाहा छ । व्यायाम गर्दा व्यक्तिमा आत्मविश्वास बढ्छ, तनाव व्यवस्थापन हुन्छ, शरीर फिट देखिन्छ, रचनात्मक क्षमताको वृद्धि हुन्छ, शरीरबाट पसिना बाहिरीन्छ, स्फूर्ति आउँदछ । स्वस्थ जीवन धन हो ।

३. सन्तुलित भोजन /सादा आहारव्यहार : अहिले धेरै मान्छेको सोँच छ, ‘पेट भरीनुपर्‍यो वश् । तर खाना कस्तो छ ? खाना खाने समय ? खाना खानुअघि र खाईसकेपछिका आनीबानी, नियमित, सन्तुलित छ या छैन भनेर हामीले ध्यान पुर्‍याउनुपर्छ । त्यसैले सफा, दाना भएका, हरीया पहेँला फलफूल, ताजा तरकारी, घ्यू, मह, चोकरसहितका अनाज, माटोमुनी फलेका, उमारेका गेडागुडी, मौसमी फलफूल आदी खानुपर्छ । एकैपटक धेरै खाने र लामो समयसम्म नखाने गर्नुहुँदैन । धेरै चिल्लो पिरो, मसलेदार, अत्याधिक चिसो, धेरै तातो, बजारीया, बासी, फ्रोजन गरीएका खानेकुरा खानु हुँदैन ।

४. एक पटकमा एउटा काम : अक्सर मानिसको कमजोरी यहि नै हो । मानिसहरुलाई यो पनि चाहिएको छ । त्यो पनि चाहिएको छ । यसरी हुँदैन । धेरैतिर हात हाल्दा हातमा शून्य मात्रै प्राप्ति हुन्छ । यसअर्थ एकपटकमा धेरैतिर हात हाल्ने र एकै समयमा धेरै काम सक्नुपर्ने बानी आजैबाट त्याग्नुहोस् । अपर्झट आइलाग्ने कामले ‘फोकस आउट’ हुन सक्छ । एउटा विषयमा तपाईले ध्यान केन्द्रित गर्न पाउनुहुन्न । यसले तनाव पनि बढाउँछ । त्यसकारण एकपटकमा एउटा मात्र काम हातमा लिनु राम्रो हुन्छ । यसरी धेरैतिर हात हाल्दा तपाईले अपजस धेरै खेप्नुपर्ने र यसले थप तनाव सिर्जना गर्छ ।

५. उद्धेश्य नबदल्नुहोस् :  धेरै मानिसहरुले भन्छन्, मलाई खासमा रुची यो विषयमा थियो तर म यो बनेँ । तर यदि तपाईको भित्रि मनबाट आएको ईच्छाशक्तिबेगर नै तपाई कुनै काममा हुनुहुन्छ भने त्यस काममा सफलता हात नलाग्न सक्छ । तसर्थ एउटा निश्चित उद्धेश्य बनाएर त्यसको प्राप्तिका लाग्नु प्रभावकारी हुन्छ । तर याद गर्नुहोस् ! एकपटकमा धेरै उद्धेश्य बनाउन थालियो भने हामीभित्रको ऊर्जा र समय अनावश्यक रुपमा खेर जान्छन् । सफलता पनि हात लाग्दैन । तन मन लगाएर उदेश्यमा अडिग हुने व्यक्ति र स साना कुराबाट विचलित नहुने व्यक्तिले नै सफलताको स्वाद चाख्छ ।

६. आवश्यकता अनुसारको प्राथमिकता निर्धारण : एकैछिन त हो नी भन्दै हामीले अनावश्यक कुरामा समय खेर फालेको पत्तै पाउँदैनौँ । एकपटक खुल्ला मस्तिष्कले सोच्नुहोस् त – हामीले यसरी अरुको टिप्पणी गर्नमा, अरुको लागि सोच्नमा, कुरा गर्नमा, सामाजिक सञ्जालमा बेतुकको बहस गर्नमा कति समय खेर फाल्यौँ होला ? त्यसैले जीवनमा त्यही कुरा महत्वपुर्ण हुन्छ, जसलाई हामी एकदमै माया गर्छौ । जसमा हाम्रो मन जान्छ । र, जुन कुरा गर्नमा आनन्द आउँछ । ती कुरा के हुन सक्छन्, समयमै छुट्याउन सक्नुपर्छ । तर यो कुरा हरेक मानिसपिच्छे फरक फरक हुन्छ । अर्थात् प्राथमिकता आधार छुट्याउने बेला महत्वको आवश्यकता कुन हो ? थाहा पाउनुपर्छ ।

७. सम्मान सहित सेवा वा दया भाव : कसैप्रति दयालु हुनु पनि एक किसिमको बानी नै हो । आफूभन्दा ठूलाको सम्मान गर्नु र सानालाई माया गर्नु र उनीहरुप्रति सम्मानले, श्रद्धाले, दयाभावसहित शिर झुकाउनु स्वयम् तपाईको लागि फाईदाजनक हुन्छ । तपाईको कमाईको केहि हिस्सा किन अरुलाई बाँड्नुहुन्न ? आफूभन्दा ठूलाको कुरा किन सुन्नुहुन्न ? अरुप्रति दयाभाव किन देखाउनुहुन्न ? अप्रति सम्मान भाव किन दर्शाउनुहुन्न ? किनकी तपाईमा अहमता छ । मैले पृथ्वी थामेको छु भन्ने भ्रम र अहम्ताले तपाईको प्रगतिमा बाधा सिर्जना गर्छ । तसर्थ स साना क्रियाकलापबाट अरुको सेवा, सम्मान, सहयोग बढाउँदै लैजानुहोस् तपाईको समय राम्रो हुँदै जान्छ ।

अहिले थोरै जान्नेबित्तिकै, अक्षर चिन्नेबित्तिकै, एउटा रोजगारी गर्नेबित्तिकै, अलिकति घुमघाम गर्नेबित्तिकै परीवार र आफन्तलाई चटक्कै भुल्ने प्रवृतिले मानिसहरुको दुख बढेको छ ।

८. दैनिकी तालिका :  हामी खुसी भएको बेला फुरुङ्ग हुन्छौँ । दंग पर्छौ । तर त्यो क्षणिक हुन्छ । किन ? किनकी हामीले जीवनमा खुसी हुने काम गरेका छैनौँ । खुसी हुने काम वैज्ञानिक र सिर्जनात्मक तरीकाले गरेका छैनौँ । एकैछिन काम गर्दा होस् या साधारण दिन । दैनिकी बनाउनुहोस् र त्यसको अनुसरण गर्नुहोस् । आफ्नो सुत्ने,उठ्ने,काम गर्ने र काम सक्ने समयबारे दैनिकीमा समावेश गर्न सकिन्छ । केहि नयाँ काम गर्न लागेको अवस्थामा कार्ययोजना र तालिका बनाउनुहोस् र सेड्युलमा चल्नुहोस् । यो निरन्तर गर्नुहोस् ।

९. जीवन प्रतिको बुझाई : जीवनको सबैभन्दा ठूलो कुरा भनेको आत्मसम्मान हो । त्यो आत्मसम्मान पाउनको लागि सकारात्मक सोँच जरुरी हुन्छ । अरुको भलाई र आफूलाई माया गर्न जान्नुपर्दछ। अरुलाई सम्मान दिन जान्ने मान्छे सम्मानको लागि लायक हुन्छ, भन्ने कुरा मनन गरेर व्यवहार गर्नुपर्छ ।

यहाँ केहि (एकाध ) मानिस छाडेर धेरैले मानिस मरणसिल प्राणी हो । मात्रै सुने । देखे । सकियो । तर कसैको ईहलिला समाप्त भएर धुँवा बनेको देखेको, सुनेको, भोगेको मान्छेले समेत जीवन बुझ्दैन । उही घमण्ड, उही स्वार्थ, उही लोभ, उही लालच, मै लाउँ मै खाउँ, ‘म’ भन्ने पात्रलाई मात्रै केन्द्रमा राखेर आफ्नो बारेमा सोच्ने मान्छेले जीवन बुझेको पनि हुँदैन । बुझ्न पनि सक्दैन र उसको हातमा सफलता पनि पर्दैन । ‘कि म सप्रिउँ कि, अर्कोलाई बिगार्छु’ भन्ने निकृष्ट सोंचले अहिलेको पुस्ता ग्रसित छ । तसर्थ आजका दिनबाट मानिस भएर बाँचौँ । खुसी भएर बाँचौ । लोभ विना बाँचौँ । तनावरहित बाँचौँ । हाँसेर बाँचौँ । अरुको लागि सेवा गरेर बाँचौँ । जीवनलाई उल्लासमय तरीकाबाट बाँचौँ । photo:internet

तपाईको समय शुभ बितोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?