कोरोना भयावह पछि युवालाई कसरी देश विकासमा लगाउने ?

अहिले फैलिरहेको विश्व महामारीले हाम्रो देश पनि अछुतो रहन सकेन । यसले हामीलाई के पनि सिकायो भने देश सञ्चालन गर्न सधै रेमिट्यान्सको भर परेर नहुने रहेछ ।
एक देशबाट अर्को देश मात्र होइन एक जिल्लाबाट अर्को जिल्ला र अहिले त एक घरबाट अर्को घरसमेत जान नमिल्ने अवस्था सिर्जना भएको छ । यसलाई हामीले अवसरको रुपमा लिएर युवाशक्तिलाई देशविकासमा लगाउने हो भने हामी अरुमा निर्भर हुनुपर्दैन ।

युवा को हुन् ? उनीहरुबाट केके कुरामा फाइदा लिन सकिन्छ ? र, युवा परिचालन गरेर कसरी देश विकास हुन्छ भन्ने कुराको उचित बुझाइ र व्यवस्था नहुनाले देश दिन प्रतिदिन पछि पर्दैछ । अवसरबाट युवाहरुलाई वञ्चित गरियो भने कसरी हुन्छ नयाँ सोचको जन्म ? कसरी हुन्छ विकास ?

उमेर ढल्केकाहरुमा न आफ्ना लागि सपना देख्ने इच्छा हुन्छ न देशका लागि । खाली निदाएर मात्र सपना देख्ने अवस्थामा हुन्छन् उनीहरु । सपना निदाएर देखिने दृश्य होइन बरु निदाउनै नदिने सोच हो जुन युवा जमातले मात्र देख्ने गर्छन् ।

हरेक वर्ष करिब ५ लाख युवाहरु बजारमा आउँछन् । यिनीहरुलाई अवसरको खाँचो छ । तर, त्यही अवसरको खडेरीले गर्दा लाखौं युवाहरु देश विकासको मूल प्रवाहबाट बाहिरीएका छन् ।
दुबई, मलेसिया, कतार लगायतका खाडी मुलुकहरु विकासको गतीमा जसरी अघि लम्किरहेका छन् ती देश बन्नमा नेपाली युवाहरुको ठूलो हात छ । अरु देश बनाउन सक्ने युवाले आफ्नो देश बनाउन सक्दैनन् र ? अवश्य सक्छन् तर, उनीहरुलाई एउटै कुराको खाँचो छ । योजनावद्ध विकासनिर्माण प्रक्रियामा युवाहरुको सकारात्मक र अर्थपूर्ण सहभागिता र देशभित्रै प्रशस्त रोजगारीको सिर्जना ।

यति कुरा गरिरहँदा हामीले खाली सरकारको वा राज्यको नीतिलाई मात्र पनि ताकिरहनु हुँदैन । कतिपय विकास त आफै पनि भइरहेका छन् । समाज आफ्नै गतीले चलिरहेको छ । तर, समाजका यावत् पक्षमा युवाहरुको हस्तक्षेपकारी सहभागीता खै ? अब युवाहरुले महत्त्वकांक्षी सोच मनमा राखेर मात्र पर्याप्त छैन । ती महत्त्वकांक्षी योजनाहरु पूरा गर्न आफै लाग्नुपर्ने हुन्छ ।
अहिलेको अवस्थामा हेर्ने हो भने प्रविधिको उचित प्रयोग नगर्नाले पनि युवाहरु बिग्रिएको देखिन्छ । प्रविधिको सही प्रयोगले मात्र पनि राष्ट्रको उन्नतिमा धेरै ठूलो भूमिका निर्वाह गर्दछ ।

आफ्नो ठाउँबाट आफ्नै तरिकाले जे सकिन्छ त्यही गर्न शुरु गर्नुपर्दछ । कसैले तरकारी तथा फलफूल उत्पादन, कसैले जुत्ता उत्पादन, कसैले कपडा उत्पादन आदिजस्ता उद्यमशील कार्यमा लाग्ने हो भने देश विकासमा धेरै समय नलाग्न सक्छ ।

हाम्रो देशलाई आज विदेशीका लागि जनशक्ति उत्पादन गरिदिने थलो बनाइँदैछ । मलेसियामा गार्ड बस्ने नेपाली, कतारमा विश्वकपका लागि रंगशाला बनाइदिने नेपाली । यहाँ सानै उमेरदेखि एउटा बालकलाई उसको अस्तित्व यो देशमा नभएर बाहिर भएके देखाइन्छ । विद्यालयमा पनि उसको कर्मभूमि यहाँ होइन विदेशमा खोज्न सिकाइन्छ ।

हामी श्रमको सम्मान गर्न हिच्किचाउँछौं । श्रमिकलाई तल्लो दर्जाको व्यक्तिका रुपमा लिन्छौं । त्यसैले यहाँ काम गर्नुको सट्टा उसले विदेशलाई नै आफ्नो कर्मथलो बनाउन बाध्य हुन्छ । यस्तो अवस्थामा देशले समृद्धितर्फ कोल्टो फेर्ने अवस्था आउन अझै केही समय पर्खिनुपर्ने देखिन्छ । यद्यपि, युवाको सक्रियतामा यस्तो मानसिकता चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव भने होइन ।

देशमा सानो काम गर्न लाज मान्ने तर, विदेशमा गएर जे गर्न पनि नहिच्किचाउने प्रवृत्तिले गर्दा विदेश पलायन हुने युवाको सङ्ख्यामा वृद्धि भइरहेको छ । जसले गर्दा देशमै उद्यम गरेर राष्ट्रविकासमा टेवा पु¥याउने उद्देश्यले यदि कसैले उद्योग सञ्चालन गर्दैछ भने पनि दक्ष जनशक्तिको निकै अभाव झेल्नुपर्ने हुन्छ उद्यमीहरुले ।

युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ ।

यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । तथापि हालका केही वर्षमा युवा विकास¸ उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा आशालाग्दा संकेतहरु देखापर्न थालेका छन् । यो हामी सबैका लागि गर्वको विषय हो ।

एक सरकारी तथ्याङ्क अनुसार नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) रहेको छ । युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको¸ १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार रहेको¸ कृषिमा युवाहरुको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवाहरु स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ । आज बेरोजगारीको कारण युवाहरु प्रतिवर्ष ५¸३८¸००० रोजगारीका लागि विदेशिने गरेका र यी मध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्ध दक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेका छन् ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट जारी तथ्याङ्क बमोजिम विदेशिने युवाको संख्यामा केही कमी आएको र यो सङ्ख्या वार्षिक ३ लाख २३ हजार मात्र रहेको देखिएको छ । युवा विकास उद्यमशिलता र स्वरोजगारका लागि सरकारी, गैरसरकारी तथा निजी स्तरबाट भए गरेका प्रयासका कारण यो विदेशिने युवाको सङ्ख्यामा कमी आएको हो भन्ने बुझाइ रहेको छ । तर पनि देशमा नै उधोग ब्यापार लगायतको रोजगारी सिर्जना गर्ने राम्रो व्यवस्था भएमा अझै यो सङ्ख्यामा कमी आउने थियो ।

युबाहरुले देशमा उद्योगधन्दा खोल्ने हो भने धेरै नै गर्न सकिन्छ । समय र परिस्थितिअनुसार को आवश्यकता पूरा गर्न पनि कुनै बस्तु वा सेवा उत्पादन गर्ने उद्योगको राम्रो सम्भावना देशमा नै छ । खासगरी युवाहरुले जे काम गर्ने हो त्यस विषयमा राम्ररी जानेर, बुझेर मात्र शुरु गर्नुपर्छ । अरुको देखासिकी गर्ने र आफू सक्षम बन्नको लागि अरुलाई दोश दिने परिपाटीले पनि धेरैजसो युवा असफल हुनपुग्छन् ।

भाग्यलाई सिरोपर गर्ने होइन । आफू अनुकुल बाताबरण आफै निर्माण गर्ने हो । म यो गर्न सक्दिन होला वा यस्तो बन्न सक्दिन होला भनेर हिनभाब मा डुब्नेले कहिले पनि सफलता हासिल गर्न सक्दैन । सफल मानिस बन्ने छनक भएको व्यक्तिले ‘यसले गर्न सक्दैन’ भनेको काम पनि फत्ते गरेर देखाउँछ ।

देशमा नै काम गरेर देशमा नै रोजगारी सिर्जना गर्ने हजारौं युबाहरु छन् त्यसमध्ये एक म पनि हुँ । यहीँ केही गर्छु भनेर मनैबाट लागिप¥यो भने सकिन्छ भन्ने कुराको उदाहरण मै पनि हुँ । त्यसैले आजैबाट स्वदेशी वस्तुको प्रयोगमा ध्यान दिऔं ।

कुनै सामान खरिद गर्दा ‘मेड इन नेपाल’ हो भनी गर्वका साथ सोधौं ।अहिलेको अवस्थामा युवाहरुको आफ्नो देशमा केही गर्न पाए हुन्थ्यो भन्ने तीव्र चाहना छ । र, यो इच्छालाई मध्यनजर गरेर सरकारले युवाहरुलाई उद्योगमा समावेश हुने अवसर प्रदान गर्ने हो या उद्यम गर्नलाई उपयुक्त वातावरण सिर्जना गरिदिने हो भने यसले देशलाई निकै फाइदा पुर्‍याउँछ ।

हुन त युवाहरुलाई उद्योग व्यवसायप्रति आकर्षित गर्नका निमित्त केही हदसम्म सहुलियत दरमा ब्याज दिने नीति पनि छ तर, त्यो खासै प्रभावकारी भएजस्तो देखिँदैन । यस नीतिलाई अझै युवामैत्री बनाउने हो भने देशमा औद्योगिक वातावरण सिर्जना गर्न यो अत्यन्त आवश्यक कदम हुनसक्छ ।

यसले देशमा स्वदेशी वस्तुको उत्पादनमा पनि वृद्धि हुन्थ्यो र, विदेशिएका युवाहरु पनि आफ्नै देश फर्किने सम्भावना बढ्ने थियो । अहिलेको विकराल समस्या भनेकै २,४ वर्ष विदेशमा बसेर २,४ पैसा कमाएर युवाहरु देश पर्किन्छन् र, यहाँ त्यस पूँजीलाई सदुपयोग गर्ने अवसर नपाएर ल्याएको पैसा सबै यत्तिकै सक्छन् । र, फेरि विदेश नै जान बाध्य हुन्छन् । यदि ती जमातलाई यहीँ रोक्न सकियो भने देशलाई ठूलो आर्थिक लाभ हुनसक्छ ।

देशभरिका सबै जनताले पनि विदेशी वस्तुमा निर्भर नभएर स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिने हो भने राष्ट्र समृद्धिको बाटोमा अवश्य लाग्ने छ ।

कृष्णराज तिमल्सिना
युवा उद्यमी
थ्रेड गार्मेन्ट
इमाडोल, ललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?