यस्तो छ श्रीमद्भगवद्गीतामा-ध्यानयोगको महत्व

काठमाडौं । श्रीमद्भगवद्गीता परव्रह्म परमात्मासम्बन्धी अध्यात्मतत्वको बोध गराउने व्रह्मविद्याको अतिरिक्त चित्तवृति निरोधसम्बन्धी अनुशासन र संयम विधिको बोध गराउने योग शास्त्र पनि हो । ध्यान योग क्रिया योगमा पर्दछ र यो कर्मयोगको एउटा घटक हो ।

वास्तवमै सबै चित्तवृति रोकेर प्रगाढ ध्यान योगमा निमग्न योगीलाई न कुनै दुःखको अनुभूति हुन्छ न तर उसको आत्यन्तिक सुखजन्य परम आनन्दभूतिबाट बिछोड नै हुन्छ ।

योगीहरुले समाधिमा रहेर अनुभूति गर्ने आत्यान्तिक सुख दुःखको निवृती भने ध्यान योगबाट नै बढी मात्रमा प्राप्त गर्न सक्दछन् ।

श्रीमद्भगवद्गीताको छैटौँ अध्यायले ध्यान योगको महत्वपूर्ण विषेशताहरुको मार्मिक चित्र उतारेको छ र ध्यान योगको साधना गर्ने स्थान,आसन र ध्यान योगमा अपनाउने पर्ने क्रियात्मक विधि समेतको वर्णन गरिएको छ ।

एक्लै एकान्त स्थानमा बसेर ध्यान योगको साधनमा निहित रहन चाहने योगीले सर्वप्रथम बिषयभोगप्रतिको आशक्ति त्यागी सबै ईन्द्रियहरुलाई वसमा राखेर मन र यसका सङ्कल्प,विकप्पनादि कर्महरुको परित्याग गरेर योगाभ्यास गर्नुपर्दछ ।

जो योगी मान,अपमान,सुख दुःखादिको प्राप्तिमा सदा शान्त र एकरस रहन्छ , जसको चित्तमा विकृति र मिक्षोभ पैदा हुँदैन,त्यसले आफ्नो अन्तस्करणमा ध्येय परव्रह्म परमात्मालाई स्थिर राखेर ध्यानमा निमग्न रहन सक्दछ ।

ईन्द्रियहरुलाई वसमा राखि जो योगी नित्य निरन्तर परमात्माको ध्यानमा विलिन रहन सक्दछ ,यस्तो योगीले परम आनन्ददायी शान्ति प्राप्त गर्दछ र उसको अन्तरात्मा हावा नभएको ठाउँमा राखिएको दीप जस्तै स्थिर रहन्छ ।

यस किसिमको समाधिद्धार चित्तशुद्धिकरण भएका योगीले आत्यन्तिक सुखको अनुभूति गर्दै आफ्नो आत्माले परमात्माको साक्षात्कार गर्दछ र आफू आफैँमा सन्तुष्ट रहन्छ । यहि परम आनन्द नै आत्यन्तिक सुख हो ।

यस किसिमको सुख र आनन्दको अनुभूति गर्ने योगीले यसभन्दा अर्को कुनै उपलब्धिलाई लाभ हो भन्ने नै ठान्दैन र यस्तो स्थितिमा पुगेका योगीको चित्तवृति जस्तोसुकै कठोर दुखबाट विचलित हुँदैन ।

भगवद्गीताको छैटौ अध्यायको २२ औ श्लोकमा भनिएको छ ।

यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं तत :।
यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते :।।

ध्यान योग भन्नु नै दुःखको संयोगबाट रहित हुनु हो । यस किसिमको योगाभ्यास मनले ईन्द्रियहरु रोकेर समग्र कामनाहरुको परित्याग गरी आत्मामा नै मनलाई रोकेर बिस्तारै गर्नु पर्दछ ।

तपाई हाम्रो मन अत्यन्त अस्थिर एवम् चञ्चल र नियन्त्रणमा राख्न कठिन खालको छ । त्यसैले मन जतातिर लागे पनि त्यसलाई खिचेर आत्मामा नै स्थिर राख्न सक्नु पर्दछ ।

भगवद्गीताले मन जता बहकिन्छ त्यतैबाट खिचेर आत्मामा नै स्थिर राख्नु पर्ने कुरा बताउँछ । अब प्रश्न आउँछ मनलाई कसरि एकत्रित गर्ने ? यसको निम्ति निरन्तरको अभ्यास सांसरिक विषयवासनाप्रतिको वैराग्यबाट नै मनलाई नियन्त्रय गर्न सकिन्छ ।

यसरी चित्तवृति रोकेर प्रशान्त मन भएको योगी पापरहित भई व्रह्ममय बन्न पुग्दछ र अत्युत्तम सुख र परमआनन्दको अनुभूति गर्दछ ।

यस्तो स्थितिमा पुगेको योगी पुरुषले सर्वत्र सबै ठाउँमा परव्रह्म परमेश्वरलाई नै व्याप्त भएको देख्दछ । अनि ऊ परमेश्वरबाट कहिल्लै अदृष्य हुदैन र अन्ततः सबै पापबाट मुक्त भई परमपद प्राप्त गर्दछ भनि बताईएको छ ।

भगवद्गीतामा भनिएको छ – योगी पुरुष तपस्वीहरु,ज्ञानीहरु र कर्मयोगीहरुभन्दा सर्वाधिक श्रेष्ठ मानिन्छ ।

यस्ता योगीहरुमध्ये पनि जो योगी दृढ भक्तिभाव र श्रद्धायुक्त भई सर्वात्मा परमेश्वरमा स्थित भएको अन्तरात्माले परमेश्वर वाशुदेवलाई भज्दछ र अनन्यभक्तिले सेवा गर्दछ , त्यही नै सर्वोत्तम योगी र परमेश्वरको अत्यन्त भक्त पनि हो ।

भक्तियूक्त ध्यानयोगी नै सर्वोतम योगी हो र त्यस्तो योगी नै समग्र पापबाट मुक्त भई परमपद प्राप्त गर्दछ भनि बताईएको छ ।

भगवद्गीताको आठौँ अध्यायको १२,१३ औ श्लोकले सबै द्धार (ईन्द्रिय)हरु रोकेर,मनलाई ह्दयमा राखी आफ्नो प्राणलाई शिरमा स्थापित गरेर ध्यान योगको स्थितिमा रहि ॐ मन्त्रको उच्चारण गर्दै परमेश्पर वाशुदेवको स्मरण गरेर देहत्याग गरियो भने परमगति प्राप्त हुन्छ भनी बताईएको छ । श्रीमद्भगवद्गीतामा उल्लेख गरिएका ध्यान योगका मन्त्रहरु आजको भौतिकवादी युगमा पनि उत्तिकै सान्दर्भिक र अझ बढि समय सापेक्ष बन्न पुगेको छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?