राँझा । क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा डुबेको छ ।
सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतवार बिहान निधन भएको थियो ।
शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसित समेत हुन पुगेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए।
उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ ।
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनले सिङ्गो गाउँपालिका शोकमा ढुबेको बताए ।
“कोरोना सङ्क्रमितको सङ्ख्या थपिने आशङ्काले पनि स्थानीयवासी त्रसित भएको देखिएको छ, त्रसितभन्दा पनि संयमित हुन जरुरी छ”, उनले भने, “गाउँपालिकाले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।”
भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ ।
शनिवार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । रिपोर्ट नआउँदासम्म आइतवार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो ।
कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थानदेखि करिव तीन किलोमिटरको दूरीमा रहेको शवदहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय गरिएको थियो । स्थानीय र परिवारका व्यक्ति शोक र त्रासका कारण अन्त्येष्टिमा सहभागी हुन सकेनन् ।
बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले शवलाई परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्पराअनुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको जानकारी दिए ।
उनले नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए।
मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
ति मध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको छ ।
सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट शनिवार २६३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आज आउने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए ।
तराई मानव अधिकार रक्षक सञ्जाल नेपालगञ्जका प्रमुख आलम खानले नरैनापुरको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै क्वारेन्टाइन व्यवस्थापन र स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री पर्याप्तमात्रामा उपलब्ध गराउनुपर्ने सुझाव दिए। उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन अपिलसमेत गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया