कोरोनाबाट मृत्युपछि ३८ जना अस्थायी क्वारेन्टाइनमा

राँझा । एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टाइनमा सारिएको छ ।

उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार मृत्यु भएपछि ३८ जनालाई जयकिसन माविकोे प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टाइन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिए।

उनका अनुसार युवकको मृत्यु भएको दीपेन्द्र क्वारेन्टाइनमा बस्न नमानेपछि सबैलाई जय किसान माविमा सारिएको हो ।

जयकिसन माविमा यसअघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट सारिएकालाई प्राङ्गणमा पालको क्वारेन्टिन बनाएर राखिएको छ ।

नरैनापुर ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवकको आइवार बिहान क्वारेन्टिनमा आफ्नै आँखा अगाडि निधन भएपछि त्यहाँ रहेकाहरुले आफूलाई अन्यत्र सार्नुपर्ने माग राख्दै आएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्वारेन्टाइनमा आइतवार अचानक भएको निधनपछि क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए ।

एक अस्थायी क्वारेन्टिन थपिएसँगै नरैनापुरका १२ क्वारेन्टिनमा अझै पनि ७५९ जनालाई राखिएको खरालको भनाइ छ ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि अवस्थित नरैनापुरमा एक जनाको ज्यान जानेगरी नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?