पूर्वसांसद खतिवडाद्वारा स्वास्थ्य सामग्री सहयोग

ओखलढुङ्गा । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाभरका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । खतिवडाले स्यानिटाइजर, क्लोरिन, मास्क, पिपिइसहितका चार लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेका हुन् ।

देशमा कोरोनाको सङ्क्रमण दर बढिरहेका बेला आफ्नो गृहजिल्लामा कोरोनाविरुद्धको अभियानलाई बलियो बनाउन जोखिम मोलेरै स्वास्थ्य सामग्री लिएर जिल्ला आएको उनले बताए। “अवस्था झनझन जटिल बन्दै गयो ।

सरकारले लकडाउनलाई कडाइ गरे पनि म गृह मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्य सामग्री जसरी पनि जिल्ला लैजान्छु भनेर आएँ”, नेता खतिवडाले भने, “मेरो जिल्लाका नागरिकलाई स्वस्थ राख्न सक्दो पहल गर्नु मेरो दायित्व हो ।

मैले व्यक्तिगत पहलमा जिल्लाभरका सबै ठाउँमा पुग्नेगरी विभिन्न सामग्री ल्याएर वितरण गरेको छु ।” व्यक्तिगत पहल र निजी खर्चमा जिल्लाका लागि स्वास्थ्य सामग्री ल्याएका खतिवडाले जिल्ला कमाण्ड पोष्टको निर्णयअनुसार जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण गरे ।

नेता खतिवडाले सबै स्थानीय तहमा २० लिटर, वडाहरुमा समेत कम्तीमा दुई लिटरका दरले पुग्ने गरी २६० लिटर स्यानिटाइजर, ५० लिटर किटनाशक क्लोरिन, क्लोरिन छर्ने स्प्रे, तीन हजार सर्जिकल मास्क, १५० थान एन–९५ मास्क, फेससेभर वितरण गरेका छन् ।

स्थानीय तहमार्फत जिल्लाका सबै ७५ वटै वडामा, जिल्ला प्रशासन कार्यालयमार्फत सबै सुरक्षा निकाय, रेडक्रस, सञ्चारमाध्यम, पत्रकारलगायतलाई पनि वितरण गरिएको खतिवडाले बताए।

सामान हस्तान्तरण गर्दै उनले स्थानीय जनप्रतिनिधि दलका नेता र सुरक्षाकर्मीलाई कोरोनाको कहरबाट नागरिकलाई सुरक्षित राख्न कुनै कसुर बाँकी नराख्न आग्रह गरे। खतिवडाले कोरोनाको सङ्क्रमण झेलेका विपन्नलाई राहत, उद्धार र सहयोग गरिररेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?