टमाटर गाईगोरुलाई

बाँके । खजुरा गाउँपालिका–२, सी गाउँका गेनालाल मुराउका बारीमा गत वर्ष प्रतिदिन ४० क्विन्टल टमाटर निस्कन्थ्यो । प्रतिकिलो पाँच रुपैयाँमा बिक्री गर्दा राम्रै नाफा हुन्थ्यो । यस वर्ष भने उनले १० हेक्टरमा रोपेको टमाटर गाईगोरुलाई खुवाएका छन् ।

टमाटर बजारमा पठाउने समयमा बन्दाबन्दी भएकाले बिक्री नहुँदा गाईगोरुलाई खुवाउनुपरेको मुराउले दुःखेसो गरे। टमाटर खेती गरेरै आफ्नो परिवारको जीविकोपार्जन गरिरहेकाले बारीमै तरकारी कुहिएपछि समस्यामा परेको उनको भनाइ छ ।

घरैबाट बिक्री हुने टमाटर बन्दाबन्दीका कारण बजार नपाउँदा गरेको लगानीसमेत नउठेको खजुरा गाउँपालिका–८ ‘ए’ गाउँका खगेन्द्र बुढा क्षेत्रीले बताए।

चार कठ्ठामा लगाइएको टमाटर बिक्री गर्न नपाउँदा कुहेर गएको उनको भनाइ छ । नेपालभन्दा भारतीय बजारबाट ल्याउन सस्तो पर्ने भएकाले व्यापारी उतै जाने गरेको उनले बताए।

बन्दीबन्दीकै कारण बिक्री गर्न नपाएपछि नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरका मुनीर अहमद राहिनले एक बिघा बारीमा लगाएको बन्दागोभी कुहिएर नष्ट भएको छ ।

बन्दीबन्दीका कारण बजारमा लैजान नसक्दा करीब ५०० क्विन्टल बन्दा गोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भएको उनले दुखेसो पोखे । बन्दा चाउमिन, मःम र पकौडाका लागि बढी खपत हुने गरेको छ । होटल तथा रेष्टुरेन्ट बन्द भएकाले तरकारी बिक्री नभएको उनले बताए ।

बारीमा तरकारी कुहिएपछि दैनिकी कसरी टार्ने भन्ने चिन्ताले सताउन थालेको किसानको गुनासो छ । बन्दाबन्दी भएपछि अधिकांश किसानको तरकारी बारीमा कुहिएको छ तर सस्तोमा पाइने भएपछि व्यापारीले भारतीय बजारबाट तरकारी खरिद गर्ने गरेका छन् ।

बन्दाबन्दीकै समयमा पाँच करोड दुई लाख ९९ हजार ९८६ रुपैयाँको तरकारी भारतबाट आयात गरिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दैनिक करीब पाँच ट्रकमार्फत तरकारी र फलफूल आयात भइरहेको छ ।

गत चैत ११देखि यही वैशाख २२ गतेसम्म १९ लाख ६४ हजार १२५ किलो विभिन्न जातका तरकारी भित्रिएको भन्सार कार्यालयका आइटी अफिसर पवन थापाले बताए। उनका अनुसार अघिल्ला महिनाभन्दा तरकारी आयातमा कमी आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?