खरको छानामुक्त अभियान शुरु

तानसेन । विपन्न र अर्थाभाव भएका परिवारलाई पाल्पामा खरको छाना मुक्त बनाउने अभियान शुरु भएको छ । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान शुरु भएको हो ।

हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए।

तीन वडालाई गत वर्ष नै खरको छानोमुक्त बनाइसकेको रिब्दीकोट गाउँपालिकाले यस वर्ष २६० घरपरिवारलाई प्रतिघर तीन बण्डलका दरले जस्तापाता वितरण गरेको छ ।

बाँकीलाई पनि गाउँपालिकामा खरको छानोमुक्त घोषणा गर्ने अभियान चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ७५ घरपरिवारलाई प्रतिघर तीन बण्डल जस्तापाताका दरले वितरण गरिएको छ । गाउँपालिकामा गत वर्ष १० लाख रुपैयाँको वितरण भएको र यस वर्ष ३० लाख रुपैयाँको जस्तापाता वितरण गरिने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए।

रम्भा गाउँपालिकामा गाउँपालिकामा रहेका २०२ मध्ये १८ घर भूकम्पबाट प्रभावित भएको र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुँदै गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

रम्भाका पीपलडाँडा, फोक्सिङ्कोट र हुँगी क्षेत्रमा खरको छाना भएका घर छन् । अहिलेसम्म एकघरलाई २१ पाताको दरले चार हजार २४० जस्तापाता वितरण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?