लकडाउनका कारण भारतमा अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउन सांसदहरुको माग

काठमाडौं । सांसद दुर्गा पौडेलले भारतमा समस्यामा रहेका २५ हजारभन्दा बढी नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेकी छिन् ।

सीमा क्षेत्रमा क्वारेन्टाइनमा रहेका र भारतका अन्य क्षेत्रमा अफ्ठ्यारोमा परेका २५ हजारबढी नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्काउन उनले सरकारसँग आग्रह गरेकी हुन् । भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीहरुले खाना समेत नभएको अवस्थामा तत्काल उद्धार गर्न उनले आग्रह गरिन् । उनले भनिन्, ‘‘हलद्वानीमा रहेको क्वारेन्टाइनमा १७ जना छन् । उनीहरुलाई खाना दिन सक्दैनौ भने क्वारेन्टाइनबाट निकालिउको छ । पलियामा २ सय जना रहेको छन् । उनीहरुलाई क्वारेन्टाइनमा हुँदा एक छाक दिइयो र अहिले निकालिएको छ । जसले गर्दा नेपाली नागरिकहरुको अवस्था दयनिय बनेको छ । बेखर्चि र दयनिय अवस्थामा रहेका नेपालीको तथ्याङ्क खंकलन गरी नेपाल फिर्ता ल्याउन आग्रह गर्दछु ।’’

सरकारले रोजगारीका लागि विभिन्न मुलुकमा गएका नेपालीहरुलाई प्राथमिकताका हिसाबले नेपाल ल्याउने भनेपनि भारतमा रहेकाहरुलाई ल्याउने विषयमा केही योजना नभएको प्रति दुःख व्यक्त गरिन्।

रोजगारी गुमाएर लाखौ नेपालीहरु स्वदेश फर्किने अवस्थालाई मध्यनजर गर्दै सरकारले भोकमरीको समस्याबाट बच्न उनीहरुलाई श्रमको क्षेत्रमा जोड्ने योजना ल्याउनुपर्ने पनि उनले बताईन् ।

त्यस्तै सांसद प्रेम सुवालले भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुलाई उद्धार गर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन् । उनले खुला सीमानाका कारण नेपाल र भारतमा एक देशबाट अर्को देशमा जोखिम बढेकाले त्यसतर्फपनि सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद सुवालले लक डाउनको अवधिमा राहत वितरणमा पक्षपात भएको, समयमै स्वास्थ्यकर्मीलाई पीपीइ लगायतका समग्री उपलब्ध नगराएको र नीजि अस्पतालमा विरामीको उपचार नगरिएको गुनासाहरुको बारेमा स्वेतपत्र जारी गरी दोषिलाई कारवाही गर्न पनि माग गरे । उनले भने, ‘‘लक डाउनको अवधिमा दैनिक ज्यालादारी गर्ने मदजुरलाई वितरण गरिएको राहतमा पक्षपात भएको, कुहिएको खाद्यान्न वितरण गरिएको, सरकारको एकद्वार प्रणाली विपरित सत्तापक्षका सांसदले आफ्ना कार्यकर्तालाई चामलका बोरा बाँडेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, समयमा स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध नगराइएको, नीजि अस्पतालमा साधारण विरामीको उपचार नगरिएको जनगुसानो बारे सरकारले स्वेतपत्र जारी गरी दोषिमाथि कारवाही गर्नु जरुरी छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?