बन्दाबन्दीमा अपराधिक घटनामा कमी

बर्दिया । बन्दाबन्दीका कारण बर्दिया जिल्लामा आपराधिक घटनामा कमी आएको छ । भारतसँग खुला सिमाना रहेको जिल्लाका सीमा क्षेत्र पनि पूर्णरुपमा बन्द हुनु र प्रहरीको सक्रियता रहनु जस्ता कारणले विगतका तुलनामा अपराधका घटनामा कमी आएको हो ।

बन्दाबन्दीमा तस्कर, लागुऔषध, चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। अत्यावश्यकबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएकाले सवारी दुर्घटना पनि शून्य रहेको जनाइएको छ ।

प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा आवागमनमा पूर्ण रोक लगाएको छ । बजार, गाउँका चोक, सडक तथा सार्वजनिक स्थानमा कडा जाँच र सर्वसाधारणलाई अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाएकाले मानिस आपराधिक कार्यमा संलग्न हुन नपाएको खड्काले जानकारी दिए ।

बन्दाबन्दीमा जिल्लामा दर्ता भएकामध्ये एक मुद्दा फछर्योट भएको तथा पाँच अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान मार्ने उद्योग एक तथा जबर्जस्ती करणी र लागुऔषधका दुईदुई मुद्दा दर्ता भएको र त्यसमा संलग्न आठ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

जिल्लाको भारतसँग सीमा जोडिएको ८३ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?