परिवार पाल्न गाह्रो भो !

मुग्लिन । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा दैनिक ज्यालादारी मजदूरी गरेर जीवनयापन गर्दै आएका परिवार समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय पनि यतिबेला समस्यामा परेका छन् ।

पाखोबारीमा उब्जाएको कोदो, मकैले ६ महिना पनि खान नपुग्ने ति समुदायले बाँकी छ महिना भने अन्यत्र गएर दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गर्छन् । तर अहिले ज्याला मजदूरी गर्न नपाएपछि उनीहरुलाई बिहान बेलुका छाक टार्न मुश्किल परेको छ ।

गाउँपालिकाले एक महिनाअघि १० केजी चामल वितरण गरेका थिए । तर १० केजी चामल सकिसकेकाले अब घरमा चुल्हो बल्न नसक्ने अवस्था आएको दैनिक ज्याला मजदुरी गरी चारजनाको परिवार पाल्दै आएको इच्छाकामना–३ धुषाका गमबहादुर चेपाङले बताए। अहिले काम गर्न नै नपाएपछि बिहान बेलुका छाक टार्न मुश्किल भएको उनको भनाइ छ ।

उनले भने, “बारीको उब्जनीले ६ महिना पनि खान मुस्किल हुन्छ बाँकी ६ महिना बाहिर जिल्लामा गएर ज्याला मजदूरी गरेर परिवार पाल्ने हो तर अहिले अनिकालकै समयमा ज्याला मजदूरी ठप्प हुदाँ घरमा चुल्हो बल्न गाह्रो भएको छ गाउँपालिकाले दिएको १० केजी चामल पनि सकियो ।”

अर्का स्थानीय सिद्धान्त चेपाङका अनुसार यहाँका ति समुदायका केहीले तरकारी खेती पनि गर्छन् तर फलाएको तरकारीसमेत बजारमा बिक्री गर्न पाएनन् । बेच्ने बेला भएको काँक्रो बोटमै कुहिएर खेर गएको उनको भनाइ छ ।

उनले अब सरकारले आफूहरुलाई काम (रोजगार) दिनुपर्ने बताए। दैनिक काम गर्न पाए मात्र परिवार पाल्न सकिने यहाँका ती समुदायको भनाइ छ ।

जग्गा जमिनको कमी भएका कारण पनि कृषिमा आत्मर निर्भरसमेत बन्न नसकेको पनि उनीहरु बताउँछन् ।

धुषमा मात्र ५३ घर ती समुदायका परिवार छन् । अधिकांशले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले भने चेपाङ समुदाय मात्र नभएर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका सम्पूर्ण परिवारका सदस्यलाई गाउँपालिकाले विकास निर्माणका काममा लगाउने जानकारी दिइन् । अब गाउँपालिकाले विकास निर्माणका काम पनि सञ्चालन गर्ने र गाउँपालिकाभित्रका विपन्न दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका विपन्नलाई रोजगार दिइने बताइन्।

उनले भनिन्, “अब विकास निर्माणका कामलाई विस्तारै कोरोनासँग जोगिँदै आवश्यक सतर्कता अपनाई सञ्चालन गर्दैछौँ, सडक खाने पानी र बिजुलीलगायतका कामलाई निरन्तरता दिनेछौँ विकास निर्माणसँगै रोजगार सिर्जना हुनेछ जसले गर्दा राहत वितरण गर्नुपर्ने सङ्ख्या पनि घट्ने छ ।”

तत्काल चुल्हो बल्ने अवस्था नआए वडा कार्यालय अर्थात् गाउँपालिकामा सम्पर्क गर्न पनि उनले अनुरोध गरीन्। त्यस्तो अवस्थामा आएमा तत्काल राहत उपलब्ध गराउने बताइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?