तोकिएको समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई मन्त्री मानन्धरको निर्देशन

काठमाडौं । लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यकाका विभिन्न आयोजनाहरुको काम सुचारु हुने भएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यका भित्रका विभिन्न विकासे आयोजना सञ्चालनका लागि स्थानिय प्रशासनसँग अनुमति लिइएको जानकारी दिए । बुधबार चमति एकिकृत जग्गा एकिकरण विकास आयोजनाको निरन्तरताका लागि निर्माण सामग्री आयात र सञ्चालनका लागि अनुमति पत्र हस्तान्तरण गर्दै मन्त्री मानन्धरले तोकिएको समय भित्र आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । उक्त आयोजना २०५९ देखि सुरु भएपनि हालसम्म निर्माणाधिन अवस्थामै रहेपछि सरकारले चासो दिन थालेको हो । कार्यक्रममा चमति एकिकृत आयोजनाका ठेकेदार दावा लामाले तोकिएको मितिमै आयोजना समापन गर्ने प्रतिवद्वता जनाए ।

मन्त्री मानन्धरले लकडाउनका समयमा पनि सामाजिक दुरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्नुको विकल्प नरहेको बताउँदै कोरोना महामारीसँग जुध्दै विकासलाई पनि निरन्तरता दिइने बताए । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम सार्थक बनिरहेको बताउँदै मन्त्री मानन्धरले अब बिकासका गतिविधिलाई पनि तिब्रता दिइने बताए । मन्त्री मानन्धरले बेरोजगार बनेका श्रमिकहरुलाई काम दिन सकिए आर्थिक गतिविधि पनि चलायमान हुने बताए । आगामि आर्गिक वर्षको बजेटमा कोरोना भाइरसको प्रभाव देखिए पनि विकास आयोजनाहरुको बजेट व्यवस्थापनमा कुनै समस्या नहुने मन्त्री मानन्धरको तर्क छ ।

सहरी विकास मन्त्रालय मार्फत् आगामी वर्ष कम्तिमा एक लाख विपन्न परिवारको घरमा लगाइएको फुसको छानो विस्थापन गराइने मन्त्री मानन्धरले जानकारी दिए । मन्त्री मानन्धरले आगामी वर्ष कम्तिमा एक लाख फुस र खरको छानो हटाएर जस्तापाताको छानो राखिने जानकारी दिए । यस्तै १६५ वटै निर्वाचन क्षेत्रका सहरी क्षेत्रको स्तर उन्नतिका लागि चक्रपथको परिकल्पना गरिएको मन्त्री मानन्धरले जानकारी दिए । यस्तै उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी प्रस्तावित टोखा(छहरे सुरुङमार्गदेखि निर्माणाधिन नौविसे सुरुङमार्ग सम्म वैकल्पिक चक्रपथसहितको नयाँ सहर बनाउने तयारीमा मन्त्रालय रहेको छ । दुबै सुरुङ मार्गको मुखमा तथा फुट्रयाकको शुन्य विन्दुमा सुख्खा बन्दरगाह निर्माणबारे पनि छलफल चलिरहेको मन्त्री मानन्धरले जानकारी दिए ।

सहरी विकास मन्त्रालयले बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्डको कामलाई पनि निरन्तरता दिने भएको छ । त्यसका लागि आवश्यक सबै प्रवन्ध मिलाईएको छ । यस्तै बालाजु बाईपास क्षेत्रको सडकहरु विस्तारको कामलाई पनि तिब्रता दिईएको छ ।

उपत्यकाका विभिन्न स्थानमा सञ्चालित मेसको अनुगमन

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहिक मेसको स्थलगत अनुगमन गरेका छन् । बुधबार काठमाडौंको चमति, भुईंखेल र बुद्धपार्कमा सञ्चालित मेसको अनुगमन गरिएको हो ।

चमतिमा सञ्चालित मेसमा दैनिक करिब तीनसय जनाले खाना खाने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । मन्त्री मानन्धरले चमतिमा सञ्चालित मेसमा खाना खान आउनेका लागि ज्वरो मापन गर्नका लागि थर्मल गन उपलब्ध गराएका थिए । थर्मल गन ग्रहण गर्दै चमति ज्यापु समाजका अध्यक्ष पुर्णकाजी ज्यापुले आफुहरुको अभियानमा मन्त्रीले हौसला प्रदान गरेको बताए ।

स्वयंभुको भुईंखेलमा भने दैनिक सात सय जनाभन्दा बढीले खाना खाने गरेका छन् । स्थानीय बुद्धिजिवी र सहयोगि विभिन्न संस्थाहरुले खाना खुवाउन आवश्यक प्रवन्ध मिलाउने गरेको आयोजकले जनाएका छन् । भुईंखेलमा अहिलेसम्म २८ हजार भन्दा बढी सर्वसाधारणलाई खाना खुवाइएको आयोजकका अगुवा किरण शाहीले जानकारी दिए । दैनिक रुपमा डेढ सय मुस्लिम परिवारका लागि होम प्याकिङको समेत व्यवस्था मिलाईएको शाहीले बताएका छन् ।
यस्तै स्वयंभुको बुद्ध पार्कमा पनि दैनिक साढे तीन सय भन्दा बढी सर्वसाधारणलाई खाना खुवाउने गरिएको मनाङ विमन्स समुहले जानकारी दिएको छ । महिलाहरुको अग्रसरतामा विभिन्न सहयोगि दाताहरुको समन्वयमा खाना खुवाईएको हो । अनुगमनका क्रममा मन्त्री मानन्धरले मानव सेवाका लागि दैनिक रुपमा खटिनेहरुको योगदान अमुल्य रहेको बताए । मन्त्री मानन्धरले विपद्को घडीमा विपन्न तथा कमजोर अवस्थाका नागरिकको रक्षाका लागि सबै नागरिकले आ(आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।

उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसमा दैनिक पाँचदेखि सात हजारसम्मले खाना खाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?