कोरोनाले साउदीमा एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट साउदी अरबमा एक नेपालीको मृत्यु भएको छ । साउदीमा कार्यरत ५१ वर्षका इटहरी ५ का लिलामान कटुवालको मृत्यु भएको हो । कटुवाल एक वर्षअघि छोराको ब्रतबन्धमा नेपाल आएर फर्केका थिए।

साउदीमा रहँदा कोरोना संक्रमण भएपछि उनले परिवारलाई सो बारे जानकारी दिएका थिए।

१६ दिनअघि आफू संक्रमित भएको खबर दिएका उनले ७ दिनअघि मात्रै अन्तिम पटक भेन्टिलेटरबाट परिवारलाई भिडियो कल गरेका थिए।

त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ। पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमवार पाएको थियो।

मृतक कटुवालको शव नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि शुरु गरिएको छ । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्।

यसैबीच कोरोना भाइरसको महामारीका कारण विश्वमा २ लाख ५२ हजार ५७३ जनाको मृत्यु भएको छ भने ३६लाख ५९ हजार १०३ जनालाई संक्रमण भएको छ । त्यस्तै नेपालमा पनि कोरोना भाइरस संक्रमितको जम्मा संख्या ८२ पुगेको छ भने १६जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?