काठमाडौंमा भारी वर्षा, के भन्छ मौसम पूर्वानुमान महाशाखा ?

काठमाडौं । मौसम बदली हुँदा सोमबार बिहानै देखि काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अहिले देशभरी नै मौसम बदली भएको छ ।

महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमन्सुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले अवको तीन दिन सम्म समान्य देखि पूर्ण बदलि हुने र मेघ गर्जन सहित वर्षा हुने बताएको छ ।

सोमबार दिनभर काठमाडौं उपत्यका सहित देशका अधिकांश भू–भागमा समान्य देखि पूर्ण बदली हुने छ भने केही स्थानमा मेघगर्जन सहित चट्याङ पर्ने र असिना र हावाहुरी सहित वर्षा हुनेछ ।

यस्तै मंगलबार पनि पश्चिमी भू–भागाका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै २४ गते बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने र पहाडी क्षेत्र, पूर्वी र मध्य तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको अनुमान पनि महाशाखाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?