काठमाडौं – लकडाउनलाई खुकुलो पार्दै जनजीविकालाई केहि खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ विरुद्धको रणनीति तयार पारेको अवस्थामा आज (आईतबार ) मात्रै १५ जना संक्रमित थपिएपछि अब यस निर्णयबारे थप विचार लिनुपर्ने भएको छ ।
कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४१ औँ दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले कार्ययोजना तयार पारेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा विभिन्न कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको थियो । तर आईतबार संक्रमितको संख्या ह्वात्तै बढेपछि अब यो कार्ययोजना परिमार्जन गर्न विज्ञहरुले सुझाएका छन् ।
के थियो कार्ययोजनामा ?
जसअनुसार स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ ।
ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिनेछ ।
संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई पहेँलो क्षेत्र एलो जोनमा मुख्य क्रियाकलाप मात्रै खुला गरिनेछ ।
संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्र अर्थात् रेड जोनमा भने लकडाउन जारी राखिनेछ ।
तर नेपालमा केहि घण्टाको फरकमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै लकडाउन कायम नै राख्ने या के गर्ने भन्ने विषयमा गम्भीर ढंगले छलफल हुन जरुरी रहेको विज्ञको भनाई छ ।
आईतबार मात्रै बाँकेको नेपालगञ्जका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आइतवार मात्रै नेपालगञ्जमा नै अन्य ९ जना तथा वीरगञ्जमा १ गरि १० जनामा कोरोना पुष्टि भएको थियो । त्यसको केहि घण्टामा नै थप ६ जनामा कोरोना पुष्टि हुनु र निको भएर घर फर्केका युवामा फेरी स्वास्थ्य समस्या देखिनुले अब यो महामारीको संक्रमण फैलन सक्नेतर्फ थप गम्भीर बन्न जरुरी भइसकेको छ ।
यसैबीच अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियाकर्मीसँग भनेका छन्, ’अहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक कृयाकलाप चलायमान बनाउने काम भएको छ । ’
यस्तै कोरोना भाइरसको महामारीबाट बच्न यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले लकडाउनको मोडल परिवर्तन गर्ने गृहकार्य सुरु गरेको अवस्थामा यतिधेरै संक्रमित थपिएका कारण अब थप छलफल गर्नुपर्ने भएको छ ।
यसका लागि मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले वैशाख २५ गतेपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएको स्रोतले बतायो ।
यसअघि अर्थतन्त्र चलायमान बनाउन उपत्यकाभित्र लकडाउन खुकुलो पार्न नेपाल चेम्बर अफ कमर्सले पनि सरकारलाई सुझाव दिइरहेको छ ।
त्यसो त ‘कोभिड–१९ को खोप पत्ता नलाग्दासम्म पूर्ण निर्मुल नहुने र खोप कहिलेसम्म बन्ने भन्ने विषयमा टुंगो नभएको कारण लकडाउनको मोडालिटी परिर्वतन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।’
सोहीअनुरुप मन्त्रालयले गृहकार्य थालेको थियो । यद्यपी सरकारले योजना बनाइरहेकोजस्तो केहि दिन खोलेर हेर्ने, जोनहरु छुट्याउने विषयमा झनै छलफल गर्नुपर्ने भएको छ ।
यस्तै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि एकैपटक लकडाउन खोल्न नहुने बताएको छ । त्यसो त विश्व स्वास्थ्य संगठनले पनि लकडाउन खोल्न हतार गरे ठूलो महामारी झेल्न बाध्य हुनुपर्ने भएकोले लकडाउन खोल्न हतार नगर्न सुझाईरहेको छ ।
कोभिड १९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाएर पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रुपमा काम गर्ने स्थिति नरहेने विज्ञहरुले बताएका छन् । बरु लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रुपमा दैनिक काम गर्ने भन्ने छलफल केन्द्रित गर्नुपर्ने जानकारहरु बताउँछन् ।
स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएअनुसार राजधानीमा क्वारेन्टाइन सेन्टर, स्क्रिनिङ, अन द स्पोट टेस्ट’, निगरानीको व्यवस्थालगायतका प्रक्रिया अपनाएर लकडाउन खुकुलो बनाउन सकिने तयारी हुँदा काठमाडौंमा केह िकेस देखिएपछि मन्त्रालय पछि हटेको थियो । यद्यपी पछिल्लो प्राप्त जानकारी अनुसार केही खास समयसम्म संक्रमण, नयाँ केस नदेखिएका अन्य सहर, गाउँ, ठाउँ, जिल्ला, प्रदेशमा खुकुलो नीति लिन सकिने बताइएको छ ।
लकडाउन लम्बिँदै जाँदा पहिला भन्दा सवारी साधन र मानिसको चहलपहल क्रमिक रुपमा बढ्न थालेको छ ।
आउँदो वैशाख २५ गते लकडाउनको ४५ दिन पूरा हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको मन्त्रीपरिषद् बैठकमा लकडाउन र सीमानाका कडाइ भएकै कारण कोरोना भाइरस नियन्त्रण भएको उल्लेख गर्दै सीमानाकामा झन् कडाइ गर्न मन्त्रीहरुलाई निर्देशन दिएका कारण यो लकडाउन नखुल्ने संकेत मिलेको छ । लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने र कम जोखिमयुक्त ठाउँमा नोन तोकेर मार्क गरी लकडाउन सहज पार्दै लैजानेबारे मन्त्रिपरिषद्मा प्रस्ताव आएपनि छलफल भएन । अब संक्रमित ह्वात्तै बढेका कारण झनै गम्भीर ढंगले सोच्नुपर्ने भएको छ ।
लकडाउनको मिति सकिएपछि छिमेकी मूलुक भारतले लकडाउनको समय बढाएसँगै नेपालमा पनि लकडाउनको समयावधि बढाउन जरुरी हुन्छ भन्ने मत पनि उत्तिकै छ ।
यो पनि पढ्नुहोस् :
नेपालमा एकैदिन थपिए १६ कोरोना संक्रमित, १ जनाबाट १५ जनालाई संक्रमण !
फेरि ६ जनामा कोरोना संक्रमण, ७५ पुगे संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया