मृतकको थ्रोट स्वाब परीक्षणका लागि पठाइयो

बैतडी । क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ ।

पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

रिपोर्टपछि मात्रै जुनेमा कोरोना भएरनभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। रिपोर्ट एक/दुई दिनभित्रै आउने उनले बताए। भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो ।

लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिनुभएको थियो । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उनको शनिवार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो ।

जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ । मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?