बन्दीपुरद्वारा बाँझो जग्गा सदुपयोग गरिँदै

तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँझो जग्गा भूमि बैँकमार्फत सदुपयोग गर्न लागेको छ ।

खेती गर्न नचाहने र बाँझो राख्ने व्यक्तिको जग्गा भूमि बैँकमार्फत गाउँपालिकामा ल्याई खेती गर्न चाहने व्यक्तिलाई उपलब्ध गराउन लागिएको छ ।

बाँझो जग्गा उपयोग गर्दै कृषिलाई आधुनिकीकरण गरी गाउँपालिकालाई अन्नबालीमा आत्मनिर्भर गराउने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

जग्गा बाँझो हुनबाट जोगाउन गाउँपालिकाका छ वटै वडामा परिपत्र गरी कार्यान्वयनका लागि पहल थालिएको बताइएको छ ।

ठाउँ र हावापानी सुहाउँदो किसिमको अन्नबाली, तरकारी र फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्दै आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए।

खेती बाली गर्न इच्छुक कृषकलाई जग्गा भाडामा उपलब्ध गराइने निर्णय पनि भएको छ ।

सहकारीद्वारा कोषमा सहयोग

बन्दीपुर– १ स्थित छिम्केश्वरी बचत तथा ऋृण सहकारी संस्था लिले गाउँपालिकाको राहत कोषमा रु५१ हजार सहयोग गरेको छन् ।

संस्थाका अध्यक्ष हरिचन्द्र अधिकारीले गाउँपालिका अध्यक्ष थापालाई शनिवार सो रकम हस्तान्तरण गरे ।

गाउँपालिकाकाले लकडाउनका समयमा पहिलो चरणमा एक हजार चार सय घरपरिवारलाई राहत वितरण गरिसकेको बताइएको छ ।

गाउँपालिकामा रहेका छ वटा वडाका चौँतीस प्रतिनिधिको एक महिनाको भत्ता करीब चार लाख रुपैयाँ राहत वितरणमा खर्च गरिने योजना रहेको अध्यक्ष थापाले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?