२०७७, २० बैशाख शनिबार ११:१०

‘कोभिड -१९ को महामारीसँग जुध्न एडिबीले नेपाललाई थप सहयोग गर्नेछ’


प्रकाशित मिति : २०७७, २० बैशाख शनिबार ११:१०

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको संघर्षको चुनौतीपूर्ण अवस्थामा एसियाली विकास बैंक (एडिबी) नेपाललाई सहायता गर्न पूर्ण रूपमा प्रतिबद्घ रहेको एडिबीका नेपालका लागि ‘कन्ट्री डाइरेक्टर मुख्तर खामुद्खानोभले बताएका छन् ।

लोकपथ डटकमसँगको बिशेष कुराकानीमा कन्ट्री डाइरेक्टर मुख्तर खामुदखानोले २०७७ वैशाख १ (२०२० अप्रिल १३) मा घोषणा गरिएको बीस अर्ब डलरको विस्तारित कोभिड–१९ राहत प्याकेज अन्तर्गत विकासका अरु साझेदारहरुसँग सहकार्य गरी नेपाललाई थप सहयोग गर्ने उद्देश्यले एडिबीले तीव्र गतिमा काम गरिरहेको बताउँछन् ।

साथै यस प्याकेजमा छिटो र लचकतापूृर्ण कार्यसम्पादनका लागि विशेष ध्यान दिइएको छ र एडिबी थप आर्थिक सहायता तथा नीतिगत सल्लाह प्रदान गर्न तयार रहेको खामुदखानोले लोकपथलाई बताएका छन् ।

प्रस्तुत छ, लोकपथ डटकमका कार्यकारी सम्पादक लभेष प्याकुरेलले एसियाली विकास बैंकका नेपालका लागि ’कन्ट्री डाइरेक्टर मुख्तर खामुद्खानोभसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :

विश्वभर र नेपालमा कोभिड–१९ महामारीको अवस्थालाई तपाईं कसरी नियाल्दै हुनुहुन्छ ?

कोभिड–१९ का कारण विश्वभरिका आम मानिसको स्वास्थ्य र समुन्नतिमा पुग्ने असरप्रति एसियाली विकास बैङ्क (एडिबी) चिन्तित छ । कोभिड–१९ बाट पर्ने सामाजिक र आर्थिक प्रभावप्रति पनि एडिबी चिन्तित छ । यसको प्रभाव सुरुमा सोचेभन्दा पनि डरलाग्दो छ । सौभाग्यवस अहिलेको अवस्थामा अन्य केही देशको तुलनामा नेपालमा वास्तविक सङ्क्रमितको सङ्ख्या धेरै छैन । बन्दाबन्दी (लकडाउन), सामाजिक दूरी, परीक्षण, खोजी र पहिचान तथा निगरानी (क्वारेन्टिन) को माध्यमबाट यसको तीव्र विस्तार रोक्न सकिन्छ । जनस्वास्थ्यका लागि यी कदम आवश्यक छन् तर कोभिड–१९ महामारीले उद्योग तथा सेवा क्षेत्रमा पनि अवरोध सृजना गरेको छ । यसले पर्यटन, विप्रेषण प्रवाह रेमिट्यान्स, आन्तरिक व्यापार तथा यातायातमा निकै असर गरेको छ । विशेष गरी विपन्न र जोखिममा परेका मानिस समस्यामा पर्न सक्छन् ।

अहिले सबै क्षेत्रहरु ठप्प छन् र सञ्चालनमा छैनन् । बन्दाबन्दी सकिएपछिको नतिजा कस्तो हुनसक्ला र आर्थिक क्षेत्रको परिदृश्य कस्तो हुनसक्ला ?

अर्थतन्त्रमा पर्ने असरको आँकलन गर्न कोभिड–१९ को विस्तार रोक्नका लागि लागू भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कदमहरुको निरन्तरतामा भर पर्दछ । यो एक महिनाको लामो देशव्यापी बन्दाबन्दी र यात्रामा प्रतिबन्ध सङ्क्रमण नियन्त्रण गर्न आवश्यक छन् तर तिनले अर्थतन्त्रका लगभग हरेक क्षेत्रमा नकारात्मक असर गरेका छन् । बन्दाबन्दी यसरी नै महिनौँ लम्बियो भने यसले निम्त्याउने आर्थिक असर निकै ठूलो हुनसक्छ ।

जतिबेला बन्दाबन्दी खुकुलो पारिन्छ, त्यसपछिका कदमपनि विस्तारै चाल्नु पर्दछ । त्यसका साथै सम्भाव्य सङ्क्रमणको जाँच र अनुगमन गर्न विश्वसनीय विधि पनि अपनाउनुपर्छ । अर्थतन्त्रका केही क्षेत्रहरु जस्तै निर्माण, उत्पादन, थोक तथा खुद्रा व्यापार, कृषि गतिविधिहरु आंशिक रूपमा सुचारु हुनसक्छन् । यस महामारीले गर्दा आपूर्ति शृङ्खला (सप्लाइ चेन)मा आएको अवरोधका कारण यी क्षेत्रहरु पुन सुचारु भई सामान्य अवस्थामा फर्किन भने केही समय (सायद केही महिना) लाग्नेछ ।

बन्दाबन्दी हटिसकेपछि पनि यातायात र पर्यटन, होटेल र रेस्टुरेन्टहरुले चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । कोभिड–१९ को रोकथाम तथा आन्तरिक र अन्तर्राष्ट्रिय यात्रा विस्तारै सुरुवात हुन थाले पनि मानिसहरु यात्रा गर्न अनिच्छुक हुनसक्छन् ।

नेपालका छिमेकी राष्ट्र भारत र चीन तथा विश्वव्यापी रूपमा महामारीको अवस्था कस्तो रहन्छ, नेपाली अर्थतन्त्रमा पर्ने असर पनि त्यसैमा निर्भर हुनेछ । ती देशमा यसको रोकथाम छिटै हुनसक्यो भने नेपालको अन्र्तराष्ट्रिय व्यापार तथा समग्र आन्तरिक आर्थिक गतिविधि सामान्य अवस्थामा फर्कन सक्छन् । अर्थतन्त्रको स्थिति पछि कस्तो होला भनेर अहिले नै आकलन गर्न अप्ठ्यारो छ । तर यस महामारीको निरन्तरताले पक्कै पनि नेपालको अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव पार्नेछ ।

सेवा क्षेत्र, विशेष गरी पर्यटन र विप्रेषण निकै प्रभावित भएका छन् । यस्तो अवस्थामा नेपाली अर्थतन्त्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन असर कस्तो पर्ला ?

पर्यटन र विप्रेषण आम्दानीको गिरावटबाट अर्थतन्त्रमा हुने क्षति मध्यम अवधि र दीर्घकालीन अवधिमा बढी देखिने छ । पर्यटनले कुल गार्हस्थ उत्पादनमा प्रत्यक्ष रुपमा २% मात्र योगदान गरे पनि समग्रमा यसले कुल गार्हस्थ उत्पादनमा लगभग ८% योगदान गरेको छ । पर्यटनसँग जोडिएका व्यवसायहरु धेरै छन् र ती व्यवसायहरु धराशायी बन्दा त्यसले राजस्वमा हुने नोक्सानीकासाथ हजारौंको रोजगारी खोसिने स्थिति सृजना गर्नेछ ।

नेपालको बाह्य क्षेत्रमा स्थिरता कायम राख्न विप्रेषणले सहयोग गरेको छ । कोभिड–१९ महामारीले गर्दा विप्रेषणमा आएको भारी नोक्सानीले नेपालको विदेशी विनिमय सञ्चितिमा गिरावट ल्याई भविष्यमा देशको आयात क्षमता कमजोर बनाउन सक्छ । त्यस्तो अवस्थामा नेपालले तत्कालका लागि बाह्य ऋणमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।

यस्तो अवस्थामा आर्थिक वृद्धिको स्थिति कस्तो देखिन्छ ? हालको आर्थिक अस्थिरतालाई ध्यानमा राख्दै एसियाली विकास परिदृश्य (एडिओ) मा उल्लेखित पूर्वानुमानमा केही संशोधन गर्नुपर्ने त होइन ?

एसियाली विकास परिदृश्य (एडिओ) तयारी गर्दाको समयदेखि नै विश्वप्यापी रूपमा समेत विकासको परिदृश्य त्यति अनुकूल देखिएको छैन । वैशाख १७ गते प्रकाशित केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण अनुसार आर्थिक वर्ष २०७६/७७ (सन् २०२०) मा नेपालकोआर्थिक वृद्धि २.३% मा सीमित रहने अनुमान छ । यसैगरी कोभिड–१९ महामारी निरन्तर रहे आर्थिक वर्ष २०७७/७८ (सन् २०२१) मा पनि नेपालको आर्थिक वृद्धि अझ खुम्चिने एडिबीको अनुमान छ । जुन कोभिड–१९ भन्दा पहिलेको ६.४% को पूर्वानुमानभन्दा कम हुनेछ । आर्थिक वृद्धिको पूर्वानुमानको समीक्षा सम्भवतः सन् २०२० को जुनमा गरिनेछ र त्यसले आर्थिक वृद्धिको सम्भाव्य स्थितिलाई बुझ्न सहयोग गर्नेछ ।

नेपालका आर्थिक र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नेपाल सरकारलाई तपाईंका सुझाव कस्ता छन् ? यस्तो महामारीको अवस्थामा निजी क्षेत्रले यो समस्याको सामना कसरी गर्न सक्छ र दीर्घकालमा आफ्नाव्यवसाय कसरी जोगाउन सक्छ ?

कोभिड–१९ लाई नियन्त्रण गर्न अहिलेको परीक्षण क्षमता र पूर्वाधार देशभरि नै विस्तार गर्नुपर्छ । स्वास्थ्य सामग्री, परीक्षण किट र यस महामारीमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरुका लागि सुरक्षा सामग्री समयमै प्रभावकारी तरिकाबाट खरिद गरिनु पर्छ ।

महामारी निरन्तर रहेको खण्डमा सामाजिक सुरक्षाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगारी प्रदान र खाद्यान्न आपूर्तिका साथै नगद हस्तान्तरण कार्यक्रमले पनि सामाजिक सुरक्षा कार्यक्रममा थप सहयोग गर्नसक्छ ।

आर्थिक क्षेत्रको सम्बन्धमा, पहिले घोषणा गरिसकेको राहत कार्यक्रममा होटल, रेस्टुरेन्ट, साना तथा मझौला उद्यम व्यवसायलाई समावेश गरी महामारीबाट सबैभन्दा प्रभावित यस्ता निजी क्षेत्रका उद्यम/व्यवसायलाई लक्षित गरी थप कार्यक्रम ल्याउन सकिन्छ ।नेपालमा यो महामारी धेरै हदसम्म नियन्त्रण भयो भने उत्पादन र निर्माण जस्ता केही क्षेत्रलाई आंशिक रुपमा पुन सुचारु गरी अर्थतन्त्रलाई गति दिन सकिन्छ । सामाजिक दूरी र सरसफाईलाई ध्यानमा राखी वितरणका माध्यमहरुलाई पनि आंशिक रूपमा पुन सुचारु गर्न आवश्यक हुन्छ ।

एडिबीद्वारा नेपाल सरकारलाई प्रदान गर्ने सहयोग अझै विस्तार गर्ने कुनै योजना छ ? कतिसम्म थप ऋण सहयोगको आँकलन गर्न सकिन्छ ? यस्तो अवस्थामा नेपाल जस्तो देशका लागि बजेट सहायताको रूपमा नीतिमा आधारित ऋण अथवा नियमित आयोजनामा आधारित ऋण कस्तो सहयोग उचित हुन्छ ?

आर्थिक दृष्टिकोणले यस्तो चुनौतीपूर्ण अवस्थामा एडिबी नेपाललाई सहायता गर्न पूर्ण रूपमा प्रतिबद्घ छ । एडिबीले युनिसेफसँगको सहकार्यमा स्वास्थ्य सामग्री खरिदका निम्ति तीन लाख डलरको अनुदान प्रदान गरिसकेको छ । अहिले एडिबी सरकारले घोषणा गरेको राहत र पुनस्र्थापना कार्यक्रममा केन्द्रित भएर थप सहयोगका लागि सरकारसँग छलफलमा संलग्न छ ।

२०७७ वैशाख १ (२०२० अप्रिल १३)मा घोषणा गरिएको बीस अर्ब डलरको विस्तारित कोभिड–१९ राहत प्याकेज अन्तर्गत विकासका अरु साझेदारहरुसँग सहकार्य गरी नेपाललाई थप सहयोग गर्ने उद्देश्यले एडिबीले तीव्र गतिमा काम गरिरहेको छ । यस प्याकेजमा छिटो र लचकतापूृर्ण कार्यसम्पादनका लागि विशेष ध्यान दिइएको छ । एडिबी थप आर्थिक सहायता तथा नीतिगत सल्लाह प्रदान गर्न तयार छ ।

मेलम्ची खानेपानी आयोजना लगायत एडिबीका अन्य आयोजनाहरुमा कोभिड–१९ महामारीले कस्तो असर पारिरहेको छ ?

अलि ढिलो गति मै भएपनि राष्ट्रिय गौरवका आयोजनाहरुमा काम भइरहेको छ । बन्दाबन्दीको घोषणापछि गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन गरिरहेको धेरैजसो निर्माण कार्य रोकिएको थियो । तर विमानस्थलभित्रै बसिरहेका सीमित कामदारको संलग्नतामा अहिले एउटा अन्तर्राष्ट्रिय टर्मिनल भवन, एअर ट्राफिक कन्ट्रोल टावर र प्रशासकीय भवनको आन्तरिक सजावट, फ्लोरिङ जस्ता आन्तरिक कार्य भइरहेको छ । यी कार्य नेपाल सरकारको सुरक्षा सम्बन्धी नियमको पालना गर्दै भइरहेका छन् ।

नेपाल सरकारको सुरक्षा सम्बन्धी नियम र निर्देशिकाको पालना गर्दै मेलम्चीको सुरुङ र हेडवर्क ठेक्का सम्बन्धी काम बन्दाबन्दीमा पनि अघि बढेका छन् ।

यद्यपि यात्रामा बन्देज र सुरक्षाका नियमका कारण सामग्रीको आपूर्ति र जनशक्तिको उपल्बधतामा असर परेको छ र आयोजनाको प्रगति पनि सुस्त भएको छ ।

छिमेकी राष्ट्रहरुमा लागू यात्रा तथा पारवहन बन्देजले पनि केही अत्यावश्क सामग्री र उपकरणको आयातमा ढिलाइ हुनसक्छ । खानेपानी मन्त्रालयले यस स्थितिको नियमित अवलोकन र अनुगमन गर्दैछ र यसको प्रभावको न्यूनीकरणका निम्ति उच्चस्तरबाट सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

कामदारहरुको यात्रामा बन्देज तथा यातायात र निर्माण सामग्री आपूर्तिमा देखिएको समस्याका कारण एडिबीका अन्य आयोजना प्रायः रोकिएका छन् ।

महामारीका कारण यस क्षेत्रमा रहेको अनिश्चिततालाई ख्यालमा राख्दा अहिले नै यसको समग्र प्रभाव ठ्याक्कै यति नै हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस